
गोरखामा पनि मनाइयो ग्याल्बो ल्होसार
२१५३ औं ग्याल्बो ल्होसार गोरखामा पनि विविध कार्यक्रम गरि मनाइएको छ । सर्प वर्ग समाप्त भई घोडा वर्ग सुरु भएको उपलक्ष्यमा बिशेष गरि हिमाली क्षेत्रमा बसोवास गर्ने स्थानीयले यो पर्व मनाएका हुन् । आजबाट पन्ध्र दिन बिभिन्न कार्यक्रम गरी ल्होसार मनाइने छेकम्पारका पासाङ फुन्जो लामाले बताए ।
पहिलो दिन बुबाआमा, धार्मिक गुरु र मान्यजनबाट आशिर्वाद थापेर पर्व मनाइएको उनले जानकारी दिए । ‘पूजाआजा गरेर मान्यजनलाई खादा चढाउने र उनीहरुबाट आशिर्वाद थाप्ने परम्परा छ,’ उनले भने । उनका अनुसार ल्होसारको अघिल्लो दिन घरभित्र रहेका सबै फोहोर मैला, पूराना भाँडाकुँडा तथा फाटेका जुत्ता चप्पल बाहिर निकाल्ने चलन छ ।
फोहोर मैलासँगै घरभित्रको सबै नकरात्मकता बाहिर जाने मान्यतासहित घरबाहिर फोहोर निकाल्ने गरेको चुमनुब्रीका वाङचुक राप्तेन लामा बताउछन् । उनी भन्छन्, ‘ल्होसारको दिन बिहानै नुहाएर आफ्नो शरिर सफा गरेर पूजाआजा गर्ने, लामा गुरुसँग आशिर्वाद थाप्ने गरिन्छ । त्यस दिन कसैसँग झैभगडा गर्ने, नराम्रो बोल्ने, सोच्ने गर्नुहुँदैन् । त्यसो गर्दा वर्षभरी नराम्रो हुन्छ भन्ने मान्यता छ ।’
ल्होसारको दोस्रो र तेस्रो दिन छिमेकी, आफन्तजनसित भेटघाट गर्ने, खुशीयाली साँट्ने, मिठोचोखो खाने गरेर मनाइन्छ । पन्ध्रदिनसम्म साँस्कृतिक कार्यक्रम तथा विभिन्न कार्यक्रमहरु समेत हुने बताइएको छ । बिशेष गरि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यो पर्व मनाइन्छ । मंसिर लागेपछि जाडो छल्न शहर झरेकाहरु पनि ल्होसार मनाउन भने गाउँमै फर्कने गरेको छेकम्पारका दोर्जे लामाले बताए ।




