
बदर मत रोक्न मतदाता शिक्षाको खाँचो
निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर र जीवन्त पक्ष हो त्यसैले मुलुक चलाउनेहरु चुन्न प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते देशभर एकैसाथ सम्पन्न हुँदैछ । जनताले आफ्नो अमूल्य मतमार्फत आगामी पाँच वर्षका लागि आफ्नो भाग्य र भविष्यको फैसला गर्ने प्रतिनिधि छान्ने यो ऐतिहासिक अवसर पनि हो । तर, निर्वाचनको यो उत्साहजनक माहोलका बीच एउटा गम्भीर चुनौती मुलुकको सामु छ— त्यो हो, बदर मतको समस्या ।
नेपाल जस्तो भौगोलिक र सामाजिक विविधता भएको मुलुकमा सहरी क्षेत्रका मतदाता केही हदसम्म सचेत र शिक्षित भए तापनि दुर्गम ग्रामीण भेगका नागरिकहरूमा अझै पनि मतदान गर्ने सही तरिका, सीप र प्राविधिक ज्ञानको अभाव देखिन्छ । विगतका निर्वाचनहरूलाई हेर्दा पनि ठूलो संख्यामा मत बदर हुनु लोकतन्त्रका लागि सुखद संकेत होइन । एउटा मतदाताले उत्साहका साथ मतदान केन्द्र पुगेर हालेको मत सही छाप नलाग्दा वा प्राविधिक त्रुटीका कारण रद्द हुनु भनेको नागरिकको आवाज नै मौन हुनु हो ।
निर्वाचन सम्पन्न गर्न राज्यले अर्बौँ रुपैयाँ खर्च गर्दछ । नेपाल जस्तो सीमित आर्थिक स्रोत भएको मुलुकका लागि यो ठुलो लगानी हो । यदि मतदाता शिक्षाको अभावमा ठुलो संख्यामा मत बदर भएमा त्यो लगानी ‘बालुवामा पानी’ खन्याए सरह खेरा जाने निश्चित छ । मत बदर हुनु भनेको केवल कागजको पाना खेर जानु मात्र होइन, बरु लोकतान्त्रिक अभ्यास कमजोर हुनु र नागरिकको निर्णय प्रक्रिया नै विफल हुनु हो ।
यसै गाम्भीर्यलाई मध्यनजर गर्दै निर्वाचन आयोगले देशभर सञ्चालन गर्न लागेको मतदाता शिक्षा कार्यक्रम अत्यन्तै समयसान्दर्भिक र स्वागतयोग्य छ ।




