| सोमवार, कार्तिक २३, २०८३

गोरखा कारागारमा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम

जिल्ला कारागार गोरखामा नसर्ने रोगहरुको निशुल्क स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।

स्क्रिनिङ कार्यक्रममा कारागारका ७ महिला र ९७ पुरुष गरी जम्मा १०४ जनाले सेवा लिएका प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । स्क्रिनिङका क्रममा ४२ जनामा उच्च रक्तचाप देखिएको छ । यस्तै, ४६ जनामा मोटोपन देखिएको छ भने ८ जनामा सुगरको समस्या र २ जनाको पिसाबमा प्रोटिनको कमी देखिएको कार्यालयको भनाइ छ ।

सरकारले गत वर्षदेखि फागुन महिनामा देशैभर नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णय बमोजिम प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले पनि मंगलबार जिल्ला कारागारबाट स्क्रिनिङ अभियान संचालन गरेको कार्यालयको महामारी शाखाका नारायणबाबु अर्यालले बताए । ‘कारागारमा रहेकाहरुको मौलिक हक सुनिश्चित गर्दै त्यहाँ स्क्रिनिङ कार्यक्रम संचालन गरेका हौँ । शिविरमा अधिकांशलाई उच्च रक्तचाप भएको पाइयो’, उनले भने ।

उनका अनुसार नसर्ने रोग स्क्रिनिङ कार्यक्रम जिल्लाको ११ वटै स्थानीय तहहरुमा संचालन हुनेछ । कार्यक्रममा सुगर, प्रेसर, मोटोपन र मृगौला परीक्षण गरिने उनले बताएका छन् । कार्यालयले सबै पालिकाहरुसँग समन्वय गरेर स्क्रिनिङ कार्यक्रम संचालन गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्