| सोमवार, कार्तिक २३, २०८३

प्रविधि र परदेशबाट निर्देशित मतदान

नेपालको निर्वाचन प्रणालीमा अहिले एउटा अनौठो र रोचक दृश्य देखिन थालेको छ । चिर्वाचन नेपालमा हुँदैछ । मतदाता नेपालमा छन्, तर कसलाई भोट हाल्ने, कसलाई नहाल्ने भन्ने निर्देशन परदेशबाट भइरहेको छ । नहोओस् पनि कसरी, अलिअलि जान्ने बुझ्ने सन्तान भनेकै परदेशमा छन् । कमाइ गरेर घरमा खर्च पठाउने सन्तान नै परदेशमा छ । अनि उसले यसमा भोट हाल्नु, यसमा नहाल्नु भनेको मान्नै परिहाल्यो ।

अहिले उम्मेदवारहरू परम्परागत शैलीमा झन्डा र कार्यकर्ता लिएर घरदैलोमा पुगिरहेका छन् । तर बिडम्बना, गाउँका घरहरू रित्ता जस्तै छन् । अध्ययन तथा रोजगारीका लागि सहर पसेका वा वैदेशिक रोजगारीका लागि सात समुद्र पार पुगेका तन्नेरी पुस्ताको अनुपस्थितिले गाउँका भोट माग्ने आँगनहरू सुनसान प्रायः छन् ।

यो सुनसान भित्रै पनि सूचना प्रविधि र सामाजिक सञ्जालले निर्वाचनको नयाँ र शक्तिशाली प्रचारशैलीलाई जन्म दिएको छ । यो चुनावमा भोट माग्ने काम गाउँको चौर, चौतारीमा मात्र सीमित छैन; यो काठमाडौँका पार्टी प्यालेसदेखि मध्यपूर्वी देशका जुम मिटिङसम्म पुगेको छ । उम्मेदवारहरू सहरमा मतदाता भेला गर्दैछन् भने विदेशमा रहेका नेपालीसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरिरहेका छन् ।

यस पटकको निर्वाचनमा विदेशमा रहेका छोराछोरीले गाउँमा रहेका आफ्ना बुबाआमालाई फोन, म्यासेन्जर वा भिडियो कलमार्फत कुन उम्मेदवारलाई भोट हाल्ने भनेर सल्लाह दिने, अनुरोध गर्ने र कतिपय अवस्थामा त दबाब नै दिने गरेको पाइन्छ । घरको आर्थिक मेरुदण्ड विदेशमा रहेका तन्नेरीहरू भएकाले, उनीहरूको राजनीतिक झुकावले घरका ज्येष्ठ नागरिकहरूको मतदान गर्ने निर्णयलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

उम्मेदवारहरूले यो कुरा राम्ररी बुझेका छन्, त्यसैले उनीहरूले आफ्नो मुख्य एजेन्डा र प्रतिबद्धताहरू विदेशमा रहेकाहरूलाई बुझाउन बढी जोड दिइरहेका छन् । लाखौं मतदाता विदेश वा सहरतिर रहेको यो परिस्थितिमा राज्यले ‘प्रविधिमार्फत मतदान’ वा ’डाँक मतदान’को व्यवस्था गर्नुपर्ने अवस्था छ । अब विदेशमा भएकाले घरमा रहेका मतदातालाई सिफारिस गर्ने मात्र होइन, उनीहरुले नै मतदान गर्ने व्यवस्था गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्