
गोरखाको चार स्थानबाट निर्वाचन प्रहरीलाई तालिम
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम दिन सुरु गरिएको छ । आइतवारबाट चार ठाउँबाट एकै साथ तालिम दिन थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ठाटीपोखरी, जौवारी, आरुघाट र गोरखा सदरमुकाममा तालिम संचालन भएको छ ।
हरमटारी खेलमैदानमा तालिमको उद्घाटन गर्दै जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले प्रशिक्षण दिएका थिए । अनुशासनमा रहेको आफ्नो काम र कर्तव्य पूर्ण रुपमा पालना गर्न उनले आग्रह गरे । प्रहरीका अनुसार निर्वाचन प्रहरीलाई आधारभूत सुरक्षा तालिमअन्तर्गत आफूभन्दा माथिल्लो तहका प्रहरीलाई गर्ने शिष्टाचार, शारीरिक पोजिसन कसरी मिलाउने, फिल्डमा सर्वसाधारणसँग कस्तो व्यवहार गर्नेजस्ता विषयको अनुशिक्षण गराइनेछ ।
त्यस्तै चुनावलाई लिएर कुनै पनि व्यक्तिगत धारणा दिन नहुने, पक्ष/विपक्षमा गतिविधि गर्न नहुने, प्रहरीले आधारभूत रुपमा गर्ने व्यवहारबारे जानकारी गराउने जस्ता विषय पनि १० दिनको तालिम अवधिमा सिकाइने बताइएको छ । तालिम पश्चात उनीहरुलाई फिल्डमा प्रहरी र सशस्त्र प्रहरीसँगै एकसाथ खटाइनेछ ।
२५ पुसदेखि ३ माघसम्म निर्वाचन प्रहरीका लागि दरखास्त आहृवान गरिएकोमा जिल्लामा २ हजार ७३० जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये २ हजार २८३ जना छनोट भएका छन् । छनोट हुनेमा १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् । छनोट भएका निर्वाचन प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवान सरहको आधारभूत तलब, पोसाक, रासनलगायत सुविधा दिइएको छ ।
कार्यअवधिभर निर्वाचन प्रहरी कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्य भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइनेछ ।




