| सोमवार, कार्तिक २३, २०८३

ट्राफिकको ब्ल्याक स्पट कार्यक्रम सह्राननीय तर पूर्ण होइन

गोरखा जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको ‘ब्ल्याक स्पट’ पहिचान र चेतावनीमूलक बोर्ड राख्ने अभियान सकारात्मक कदम हो । गोरखा–आँवुखैरेनी र गोरखा–आरुघाट सडकखण्डका जोखिमपूर्ण स्थानहरूमा बोर्ड राखेर चालकलाई सचेत गराउनुले सडक अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

ब्ल्याक स्पट र यसको सान्दर्भिकता विगत तीन वर्षमा कम्तीमा पाँच पटक गम्भीर दुर्घटना भएका ठाउँलाई ‘ब्ल्याक स्पट’ तोक्ने अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै ठिँगुरेस्वाँरा, बिरेन्चोक र फिनाम जस्ता क्षेत्रमा बोर्ड राखिनु वैज्ञानिक दृष्टिकोणले पनि सही छ । चालकलाई आफू कुन स्तरको जोखिमपूर्ण सडकमा गुडिरहेको छु भन्ने जानकारी हुँदा उनीहरूमा मानसिक सतर्कता बढ्छ ।

गति सीमा र कारबाहीको चुनौती बोर्डमा उल्लेख गरिएको गति सीमा (४० किमि र ३० किमि प्रति घण्टा) पालना गराउनु ट्राफिक प्रहरीको लागि अबको मुख्य चुनौती हो । केवल बोर्ड राखेर मात्रै दुर्घटना घट्दैन । त्यसको प्रभावकारी अनुगमनका लागि राडर गन वा अन्य प्रविधिको प्रयोग गरी तोकिएको भन्दा बढी गतिमा सवारी चलाउनेलाई तत्काल कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।

दुर्घटना रोक्न ट्राफिक प्रहरीको एक्लो प्रयास मात्र पर्याप्त हुँदैन । यसमा सडक पूर्वाधार ब्ल्याक स्पटमा बोर्ड मात्र होइन, सडकको इन्जिनियरिङ सुधार, खाल्डाखुल्डी पुर्ने र मोडहरूमा ऐना राख्ने काम पनि हुनुपर्छ । बोर्डमा लेखिएका चेतावनीलाई चालकले केवल सूचनाको रूपमा मात्र नहेरी आफ्नो र यात्रुको जीवनको सुरक्षाको रूपमा लिनुपर्छ ।

साथै यो अभियान प्रचारमुखी मात्र नभई दिगो र जिल्लाभरका अन्य जोखिमपूर्ण ग्रामीण सडकहरूमा पनि विस्तार गरिनुपर्छ । ट्राफिक प्रहरीको यो सक्रियताले गोरखाको सडक यात्रालाई सुरक्षित बनाउने विश्वास गर्न सकिन्छ। तर, बोर्ड राख्ने कार्य सुरुआतु मात्र हो, यसलाई प्रभावकारी बनाउन नियमित चेकजाँच र कडा कानुनी कार्यान्वयन अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्