
द्रव्यशाहको बार्षिकोत्सवमा विविध कार्यक्रम
गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ४१ औँ वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । बिहीबार बिभिन्न कार्यक्रमहरु गरी बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमको अवसरमा छात्रवृत्तिका लागि आर्थिक सहयोग गर्ने १४ जना सम्मानित भएका छन् । लामो समयदेखि क्याम्पसमा कार्यरत क्याम्पस प्रमुख एकदेव अधिकारी र सहप्राध्यापक बद्रीकुमार कार्की समेत सम्मानित भएका छन् । दीर्घ सेवा पदक अन्तरगत उनीहरुलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ ।
प्राध्यापक धर्मजंग थापा र कृष्णप्रसाद पराजुलीलाई पनि क्याम्पसले सम्मान गरेको छ । अध्ययन अनुसन्धानको सन्दर्भमा अन्तराष्ट्रिय जर्नल क्यु १ दर्जामा लेख प्रकाशन भएवापत उनीहरुलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ ।कार्यक्रमको अवसरमा क्याम्पसमा अध्ययनरत उत्कृष्ट छात्र र छात्राहरु समेत सम्मानित भएका छन् ।
क्याम्पस संचालक समिति अध्यक्ष मनोजप्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।




