
त्रिभुवन पुस्तकालयको अध्यक्षमा श्रेष्ठ
जिल्लाको सबैभन्दा जेठो पुस्तकालय मानिने ‘त्रिभुवन पुस्तकालय’ को संचालन समिति अध्यक्षमा कुशललाल श्रेष्ठ चयन भएका छन् । पुस्तकालयको शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्ययी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मन्जुदेवी अर्याल, सचिवमा किरण अर्याल, कोषाध्यक्षमा महेश्वर अर्याल र सहसचिवमा नन्दकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा अंगतकुमार श्रेष्ठ, मलिना मास्के, कृष्णप्रसाद अधिकारी र गणेश श्रेष्ठ छन् ।
श्रेष्ठको अध्यक्षता एवं गोरखा नगरपालिका वडा नं ६ का अध्यक्ष राजेन्द्रकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको उद्घाटटन कार्यक्रममा पुस्तकालयका संरक्षक समिति सदस्य डा.राजुबाबु श्रेष्ठ, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख एकदेव अधिकारी, गोरखा क्याम्पसका सहायक क्याम्पस प्रमुख संजय अधिकारी, पुस्तकालयका सल्लाहकार एवं जेष्ठ नागरीक समाजका अध्यक्ष मोहनलाल श्रेष्ठ, पुस्तकालयका सल्लाहकार स्थानेश्वर दुवाडी, रामचन्द्र दवाडी नागरीक समाज एवं सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।
२००८ सालमा स्थापना भएको यस पुस्तकालय भूकम्पले क्षतिग्रस्त भएपछि २०७९ सालमा पुनर्निर्माण भएको हो । २०७९ असार १४ गते पुस्तकालयको नयाँ भवनको उद्घाटन गरिएको थियो । पुस्ताकलयमा हाल साहित्य पुस्तक ५३० थान, राजनैतिक/इतिहास सम्बन्धी १०७ थान, शिक्षा आयोग सम्बन्धी १०३ थान, धार्मिक पुस्तक ६० थान, बालसाहित्य सम्बन्धी ५६ थान, पाठ्यपुस्तक सम्बन्धी १७९ थान तथा पुराना पुस्तकहरु ९५० गरी जम्मा १७०४ थान पुस्तक रहेको विवरणमा उल्लेख छ ।




