| सोमवार, कार्तिक २३, २०८३

देश बनाउने उम्मेद्वार छान्ने पालो मतदाताको

नेपालका निर्वाचनको अभ्यास विक्रम संवत २००४ सालदेखि सुरु भएको हो । राणा शासन भए पनि उदार भावनाका तत्कालीन प्रधानमन्त्री पद्म सम्शेरले काठमाडौं नगरपालिकाको निर्वाचन गराएका थिए । अर्थात २००४ सालको काठमाडौं नगरपालिकाको निर्वाचनलाई नै नेपालको निर्वाचन इतिहासको प्रस्थानविन्दु मानिन्छ ।

प्रतिनिधिसभाको सन्दर्भमा कुरा गर्दा, वि.सं. २०१५ सालमा पहिलो पटक आम निर्वाचन भएदेखि हालसम्म (वि.सं. २०८२ सम्म) नेपालमा ७ पटक प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । (यसमा संविधान सभाका दुई निर्वाचनहरूलाई गणना गरिएको छैन, किनकि ती मुख्यतया संविधान निर्माणका लागि थिए) । २०१५ मा नेपालको पहिलो आम निर्वाचन, २०४८ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको पहिलो निर्वाचन सम्पन्न भएको थियो ।

२०५१ मध्यावधि निर्वाचन, २०५६ सालमा प्रतिनिधिसभाको चौथो निर्वाचन सम्पन्न भयो । २०७४ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो भने २०७९ मा दोस्रो संघीय प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो ।
विभिन्न निर्वाचन नियमित अवधिमा र विभिन्न परिस्थितिमा भए पनि अहिलेको निर्वाचन नयाँपुस्ता(जेनजी)को विशेष सक्रियतामा आव्हान गरिएको हो । भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्थाको मागसहित भएको विद्रोहले तत्कालीन संसद भंग गरी नयाँ निर्वाचन माग गरेको हो ।

नयाँ निर्वाचनले अब पुरानै प्रवृत्तिका उम्मेद्वार उभ्याउनु उपयुक्त हुन्न । यद्यपि नयाँ र पुरानो भन्ने आधार उमेर मात्र होइन, सोचाइ, बिचार, विश्वव्यापी राजनीतिक ज्ञान, प्राविधिक ज्ञान आदि हो भनेर तर्क गरिन्छ । तर मुख्य आधार भने उमेर नै हो ।
दलहरुले यी आधारहरुको ख्याल नगरी उम्मेद्वार उभ्याएका भए अब छान्ने पालो मतदाताको हातमा छ । नयाँ युग सुहाउँदो उम्मेद्वार छानेर जिताउने जिम्मेवारी उनीहरुको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्