
मनोनयन दर्तामा तामझाम नदेखियोस्
आसन्न निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् । बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । कार्यक्रम जुध्न नदिन मनोनयनका लागि दलपिच्छे फरक समयसिमा निर्वाचन कार्यालयले तोकेको छ ।
आइतवार बसेको सरोकारवाला निकायको बैठकले उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न एक आपसमा आवश्यक सहयोग र समन्वय गर्ने निर्णय समेत गरेको छ । तर विगतका निर्वाचनलाई नियाल्दा आचारसंहिता उल्लघंन गरी तामझामका साथ मनोनयन दर्ता गर्न दलहरु अग्रसर भएको देखियो । यसपटक त्यो गल्ती नदोहोरियोस् ।
निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न दलहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहन्छ । यसअघि चुनावमा भएको दलहरुबीचको गठबन्धन यो चुनावमा हालसम्म देखिएको छैन । सबै पार्टीले आफ्नो उम्मेदवार खडा गरेका छन् । यसले गर्दा पनि अहिलेको निर्वाचन थप रोचक र प्रतिस्पर्धात्मक हुने देखिन्छ ।
निर्वाचन एक स्वच्छ प्रतिस्पर्धा हो । हार जीत स्वभाविक हुन्छ । प्रतिस्पर्धामा उत्रिएपछि हार र जीत दुवैलाई सहज रुपमा स्वीकार गर्न सक्नुपर्छ । धादली, बुथ कब्जा लगायतका अराजक गतिविधी गरेर चुनाव जित्ने प्रपञ्च रच्नु आफैका लागि घातक हुन्छ । यस्तो अराजक गतिविधी गर्न जिल्लाका कोही पनि अग्रसर नहुन् चाहे दलका कार्यकर्ता होस् वा उम्मेदवार वा अन्य कोही ।
निर्वाचनलाई निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्न गराउन आ–आफ्नो तर्फबाट पहल गरौ । निर्वाचन आचारसंहिता कोही कसैबाट उल्लघंन नहोस् । शान्तपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर गोरखा जिल्लालाई उदाहरणको रुपमा अरु माझ प्रस्तुत गरौ । आज हुने मनोनयन दर्ता पनि शान्तपूर्ण रुपमा सम्पन्न होस् । अनावश्यक तामझाम प्रदर्शन नहोस् ।




