
स्वास्थ्यकर्मी लक्षित रेकर्डिङ रिपोर्टिङ तालिम सम्पन्न
जिल्लाका बिभिन्न पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी स्वास्थ्य सम्बन्धी रेकर्डिङ रिपोर्टिङ तालिम संचालन भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको आयोजनामा तालिम भएको हो ।तालिममा सहभागीहरुलाई स्वास्थ्यमा भएका बिभिन्न गतिविधिहरुलाई सफ्टवयरमा कसरी रेकर्ड र रिपोर्ट गर्ने भन्ने बारे सिकाइएको कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।
‘स्वास्थ्य क्षेत्रमा हुने बिभिन्न गतिविधिलाई चुस्तदुरुस्त रेकर्ड गर्ने हेल्थ मेनेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमएस) टुल छ,’ उनले भने, ‘त्यसमा कसरी स्वास्थ्य गतिविधिलाई रेकर्ड गर्ने र त्यो कुरालाई सफ्टवयरमा कसरी रिपोर्ट गर्ने भनेर तालिममा सिकाइयो हो ।’ तालिममा चुमनुव्री गाउँपालिकावाहेक अन्य पालिकाका २६ जना स्वास्थ्यकर्मी सहभागी थिए ।
चुमनुव्रीका सबै स्वास्थ्यकर्मीलाई लक्षित गरी यसअघि नै तालिम संचालन भइसकेकाले सहभागी नगराइएको दानीले बताए । ‘यसअघि तालिम नलिएकाहरु लक्षित गरी तालिम संचालन गरेका हौ, चुमनुव्रीका सबैले यसअघि नै लिइसक्नुभएको छ,’ उनले भने । तीन दिनसम्म चलेको तालिममा कार्यालयकी तथ्याङ्क अधिकृत स्मृति चौधरी र प्रदेश स्वास्थ्य तालिम केन्द्र पोखराका तथ्याङ्क अधिकृत प्रविण भण्डारीले सहजिकरण गरेका थिए ।
आइतवारबाट संचालन भएको तालिमको मंगलवार एक कार्यक्रमकाबीच समापन गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिमृन काफ्लेको अध्यक्षतामा तालिम समापन भएको हो । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।




