
पदमार्ग सुरक्षित बनाऊ
नेपालको पदयात्रा पर्यटनमा मनास्लु क्षेत्रले पछिल्लो समय विशिष्ट पहिचान बनाएको छ । तर, सोही क्षेत्र प्रवेश गर्ने पदमार्गको दुरावस्थाले अहिले स्थानीय बासिन्दा र पर्यटक दुवैलाई चिन्तित तुल्याएको छ । विशेषगरी न्याकफेदीदेखि ड्याङसम्मको खण्ड अहिले धरापजस्तै बनेको छ । गत साउन–भदौको वर्षायाममा खसेको पहिरो महिनौँ बितिसक्दा पनि सफा नगरिनु र मर्मतसम्भारमा ध्यान नदिनुले स्थानीय सरकारको गैरजिम्मेवारीपन छताछुल्ल पारेको छ ।
पदमार्गका सानाठूला छ ठाउँमा पहिरो झरेका थिए । तीमध्य तीन स्थानको पहिरो अल्लि जोखिमपूर्ण छन् । जसले गर्दा यस क्षेत्रमा आउने पर्यटकहरू जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ । यो विषय समग्र पर्यटन क्षेत्रकै लागि लज्जास्पद विषय हो । एकातिर बाटोको यो हविगत छ भने अर्कातिर सोही बाटो हिँडेबापत गाउँपालिकाले पर्यटकहरूबाट राजस्व असुलिरहेको छ । जसबापत पालिकाले एकै सिजनमा झन्डै एक करोड रुपैयाँ आम्दानी गर्ने गरेको तथ्याङ्क छ ।
साउनमा गएको पहिरो अर्को सिजन आउन लाग्दासम्म नपन्छाउनुले पदयात्रीको सुरक्षाप्रति सम्बन्धित निकायहरूको संवेदनहीनता देखाउँछ । पदमार्गकै नाममा उठेको करोडौँ रकम सोही मार्गको स्तरोन्नतिमा खर्च नहुनु न्यायोचित देखिँदैन ।
जोखिमपूर्ण यात्राका कारण अन्तर्राष्ट्रिय बजारमा मनास्लु क्षेत्रको साख गिर्न सक्छ, जसले दीर्घकालीन रूपमा स्थानीय अर्थतन्त्रलाई नै घाटा पु¥याउँछ ।
स्थानीय सरकारको आन्तरिक स्रोत बलियो हुनु आफैँमा सकारात्मक पक्ष हो । तर, जुन स्रोतबाट आम्दानी हुन्छ, त्यसको संरक्षण र संवद्र्धनमा खर्च नगर्नु दुखद हो । पर्यटकले तिरेको शुल्कको निश्चित प्रतिशत अनिवार्य रूपमा पदमार्गको मर्मतसम्भार, सरसफाइ र सुरक्षामा खर्च गरिनुपर्छ ।
न्याकफेदी–ड्याङ खण्डको पहिरे बाटोमा यथासीघ्र फराकिलो पदमार्ग बनाई पर्यटकलाई सुरक्षित यात्राको वातावरण बनाउन चुमनुब्री गाउँपालिका र सरोकारवाला निकायले ढिलाइ गर्नु हुँदैन । पर्यटकलाई सुरक्षित र सहज वातावरण प्रदान गर्नु पनि गाउँपालिकाको दायित्व हो ।




