| सोमवार, कार्तिक २३, २०८३

छेकम्पारमा सडक पु¥याउन पहल गर

सुन्दा रोचक लाग्छ, देख्दा झन धेरै ध्यानाकर्षक, प्रसंग हो, चुमनुब्री गाउँपालिका ७ छेकम्पारको । छेकम्पार सडक सञ्जालले नजोडेको गाउँ हो । अलिअलि बनेको सडक पनि सामागाउँतर्फ तन्किरहेको छ । छेकम्पारतर्फ सडक निर्माणको पहल पनि सुरु भएको छैन । त्यसैले अझै छेकम्पारमा १० बर्षसम्म सडक पुग्ने आशा गर्न सकिँदैन ।

तर छेकम्पारबासीले गाउँभित्र स्कुटर अनि ट्याक्टर चलाउँछन् । छेकम्पार पुग्न अप्ठ्यारो छ । चुम्चेतको खण्ड धेरै ठूला पहाड, खोच, भीर पहरा छन् । पुगेपछिचाहिँ धेरै फराकिलो, समथर भूभाग छ । त्यहाँ बर्खाका बेला पानी परेपछि पानी जम्ने तथा धेरै हिलो हुने हुनाले गाउँबस्ती जोड्न ढलान गरेर बाटो बनाइएको छ । गाउँपालिका तथा वडाको बजेटले गाउँको बाटो झण्डै डेढ मिटर चौडा भएको ढलान गरिएको छ । त्यो बाटोमा स्कुटर चल्छ ।

गाउँमा निर्माणको काम भएको ठाउँमा ढुंगा बोक्न ट्याक्टर चल्छ । गाउँसम्म १० बर्षसम्म सडक पुग्ने कल्पना नगरिएको ठाउँमा स्कुटर र ट्याक्टर चल्नु अचम्म, अनौठो कुरा हो तर, अबस्था यस्तै छ । स्थानीय दोर्जे लामा नाका खुलेका बेला तिब्बती बजार स्याक जाँदा त्यहाँका गाउँबस्तीमा स्कुटर कुदेको देखेर आफूले पनि किनेर ल्याएको बताउँछन् ।

त्यस्तै २०७३ सालमा गुम्बा लगायतका संरचना निर्माणमा धेरै ढुंगा टाढाटाढादेखि बोक्नु पर्ने हुँदा स्थानीय पासाङफुञ्जो लामाले ट्याक्टर किनेर हेलिकोप्टरमा झुण्ड्याएर लगेका हुन् । किन्दा १८ लाख रुपैयाँ परेको ट्याक्टरलाई हेलिकोप्टरमा झुण्ड्याएर गाउँ पु¥याउन ढुवानी भाडामात्र ३४ लाख खर्च भएको थियो ।

यसले स्थानीयबासीमा सवारी साधन, यातायातको साधन चलाउन कति आतुर छन् भन्ने देखाउँछ । उनीहरुमा यातायातको साधनको हुटहुटी कति धेरै छ भन्ने दर्शाउँछ । तसर्थ स्थानी नेता, जिल्लाका नेता तथा जनप्रतिनिधिहरुले छेकम्पारसम्म पनि सडक सञ्जालले जोड्न पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्