
हिमाली क्षेत्रमा ट्राफिक नियम सिकाउनु प्रसंसनीय
भौगोलिक रूपमा विकट र सडक सञ्जालको पहुँचबाट लामो समय टाढा रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पछिल्लो समय यातायातका साधनहरू देखिन थालेका छन्।
हिमालपारिको यो दुर्गम क्षेत्रमा विकासका पाइलाहरू पुग्नु खुसीको कुरा त हो नै, तर सवारी साधनको बढ्दो उपस्थितिसँगै सम्भावित दुर्घटना र सडक अनुशासनको चुनौती पनि थपिएको छ। यसै सन्दर्भलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले त्यहाँका विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई सवारी (ट्राफिक) नियम सम्बन्धी अभिमुखीकरण प्रदान गर्नु अत्यन्तै सामयिक र दूरगामी महत्वको कार्य हो ।
सडक विस्तार हुनु र गाडी चल्नु मात्र विकास होइन, सडकमा हिँड्ने र गाडी चलाउनेहरूको सुरक्षा सुनिश्चित हुनु पनि विकासको अनिवार्य सर्त हो । चुमनुब्री जस्तो भौगोलिक बनावट भएको ठाउँमा सडकहरू प्रायः साँघुरा र जोखिमपूर्ण हुन्छन् ।
यस्तो अवस्थामा सवारी नियमको सामान्य ज्ञान नहुँदा ठुलो मानवीय क्षति हुने जोखिम रहन्छ । प्रहरीले विद्यार्थीहरूलाई लक्षित गरी सचेतना कार्यक्रम चलाउनु रणनीतिक रूपमा पनि सही छ, किनकि विद्यार्थीहरू आफैँमा सचेत त हुन्छन् नै, उनीहरूले आफ्नो परिवार र समाजलाई पनि सिकाउने माध्यमको रूपमा काम गर्छन् ।
नयाँ ठाउँमा सवारी साधन चल्न थाल्दा स्थानीयमा एक प्रकारको उत्साह त हुन्छ, तर सडक सुरक्षाप्रति संवेदनशीलता कम हुन सक्छ । दुर्घटना भएपछि पश्चात्ताप गर्नुभन्दा दुर्घटना हुनै नदिने गरी पूर्वतयारी र शिक्षामा जोड दिनु बुद्धिमानी हो । प्रहरीको यो सक्रियताले नागरिक र सुरक्षा निकायबिचको सम्बन्धलाई पनि प्रगाढ बनाउँछ ।
चुमनुब्री जस्तो दुर्गम क्षेत्रमा पुगेर सचेतना फैलाउनुले के सङ्केत गर्छ भने राज्यको सेवा र सुरक्षाको पहुँच भूगोलको कठिनाइले रोकिनु हुँदैन । प्रहरीको यो अभियानलाई औपचारिकतामा मात्र सीमित नराखी निरन्तरता दिनु आवश्यक छ । साथै, सवारी चालकहरूलाई पनि यो भूगोलको संवेदनशीलता र नियमप्रति उत्तरदायी बनाउन जरुरी देखिन्छ ।
समयमै सचेतना फैलाएर सम्भावित जोखिम न्यूनीकरण गर्ने यो प्रयासका लागि स्थानीय प्रहरी प्रशासन र सम्बन्धित निकाय धन्यवादका पात्र छन् ।




