| सोमवार, कार्तिक २३, २०८३

घर आगलागी हुँदा घाइते भएकाको निशुल्क हेली उद्धार

घर आगलागी हुँदा घाइते भएका चुमनुब्री ७ छेकम्पार, लेरुका ५४ वर्षका तेन्जिङ वाङ्गेल लामालाई जिल्ला प्रशासन कार्यालयले समन्वय गरी उद्धार गरेको छ । शुक्रबार बिहान ३ बजेतिर घर आगलागी हुँदा गम्भीर घाइते भएका उनलाई शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले उद्धारको अर्को हेलिकोप्टरमा निशुल्क उद्धार गरी काठमाडौं पठाएको हो ।

‘छेकम्पारका लागि नै एउटा उद्धार उँडानले जिल्ला प्रशासन कार्यालयसंग अनुमति मागेको थियो’, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘त्यही हेलिकोप्टरवालालाई अर्को एक गम्भीर घाइते पनि उद्धार गरी काठमाडौं लगिदिन आग्रह ग¥यौँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो । अनि उहाँको उद्धार सफल भयो ।’

आगलागीमा परी तेन्जिङ वाङ्गेलको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्रीका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए । घाइतेको छेकम्पारको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो । थप उपचार गर्न काठमाडौं लैजानै पर्ने तर हेलिकोप्टर चार्टर गर्ने आर्थिक अवस्था नहुँदा उनी समस्यामा परेका थिए ।

आगलागीबाट उनको धन्सारभित्र रहेका लत्ता–कपडा, अन्नपात, काठदाउरा, याक, चौरी, घोडाको काँटी, जस्ता पाता, कृषिऔजार लगायतका सामाग्रीहरु पूर्ण रुपमा नष्ट भएको स्थानीय शिक्षक अटु लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्