
नदी सभ्यता जोगाउने प्रयास स्वागतयोग्य
प्राकृतिक सम्पदाको दोहन र विनाशका बीच गोरखाको आरुघाट गाउँपालिकाले वातावरणीय संरक्षणमा एक उदाहरणीय पाइला चालेको छ । बूढीगण्डकी नदी लगायत स्थानीय खोलानालाहरूमा करेन्ट प्रवाह गर्ने, विषादी हाल्ने र बम प्रहार गरी माछा मार्ने जस्ता अमानवीय र विनाशकारी कार्यमा पूर्ण प्रतिबन्ध लगाउने गाउँपालिकाको निर्णय स्वागतयोग्य छ । यो निर्णय केवल माछा बचाउने अभियान मात्र नभई समग्र नदी पारिस्थितिकीय प्रणाली जोगाउने एउटा महत्वपूर्ण कडी हो ।
पछिल्लो समय नेपालका अधिकांश नदी र खोलाहरूमा छिटो र धेरै माछा मार्ने लोभमा घातक विषादी र विद्युतीय लहरको प्रयोग बढ्दो छ । यसले गर्दा माछाका भुरा मात्र मर्दैनन्, पानीमा आश्रित अन्य जलचर र वनस्पति समेत सखाप भइरहेका छन् । यस्तो कार्यले नदीको प्राकृतिक सन्तुलन मात्र बिगारेको छैन, विषादीयुक्त माछाको उपभोगले मानव स्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याइरहेको छ । यस्तो संवेदनशील विषयमा आरुघाट गाउँपालिकाले देखाएको सक्रियताले स्थानीय सरकारको जिम्मेवारी र अभिभावकत्वको बोध गराएको छ ।
आरुघाटको यो सकारात्मक प्रयासलाई अब अन्य गाउँपालिका र नगरपालिकाहरूले पनि देखासिकी गर्न आवश्यक छ । विशेषगरी नदी किनारमा रहेका स्थानीय तहहरूले आफ्ना जलस्रोतहरूलाई मनोरञ्जन र आम्दानीको स्रोत मात्र नठानी तिनको दीर्घकालीन संरक्षणमा ध्यान दिनुपर्छ । प्राकृतिक स्रोतको संरक्षण गर्नु स्थानीय सरकारको संवैधानिक अधिकार र कर्तव्य दुवै हो ।
तर, नीति र नियम बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको कडा कार्यान्वयन मुख्य चुनौती हो । आरुघाट गाउँपालिकाले पनि प्रतिबन्ध घोषणा गरेर मात्र विश्राम लिनु हुँदैन । स्थानीय टोल विकास संस्था र क्लबहरूलाई परिचालन गरी कडा निगरानी राख्नुपर्छ । नियम उल्लंघन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । माछा मारेरै जीविकोपार्जन गर्ने समुदायका लागि वैकल्पिक आयआर्जनका बाटोहरू पहिल्याउनुपर्छ ।
प्रकृति रहे मात्र मानव सभ्यात पनि रहन्छ । आरुघाट गाउँपालिकाले सुरु गरेको यो संरक्षणको यात्रामा नागरिक समाज र छिमेकी स्थानीय तहहरूको ऐक्यबद्धता अनिवार्य छ ।




