
पृथ्वीरायण गोल्डकप: गोरखामा फुटबलको नयाँ आयाम
नेपाल एकीकरणका महानायक श्री ५ पृथ्वीनारायण शाहको जन्मस्थल तथा नेपाल एकीकरणको उद्गम थलो गोरखामा फुटबलको विकास गर्न फेरि एकपटक गौरवमय काम गर्ने जमर्को गरेको छ । राष्ट्रनिर्माताको सम्मान र सम्झनामा जिल्ला खेलकुद विकास समिति गोरखाले ‘पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गर्न लागेको छ ।
जुन माटोबाट नेपाल एकीकरणको थालनी गरिएको थियो, त्यही माटोमा देशका कुना–कुनाबाट आएका खेलाडीहरू बीचको प्रतिस्पर्धाले राष्ट्रिय एकताको भावनालाई अझ प्रगाढ बनाउँछ । खेलकुदले मानिसलाई अनुशासित मात्र बनाउँदैन, यसले आपसी सद्भाव र भाइचारा पनि बढाउँछ । पृथ्वीनारायण शाहले साना राज्यहरूलाई जोडेर एउटा बलियो राष्ट्र बनाए झैँ, फुटबलले पनि विभिन्न भूगोल र समुदायका युवाहरूलाई एउटै मैदानमा गोलबद्ध गराउँछ ।
त्यसैले यो केवल एक खेल मात्र नभई इतिहासप्रतिको सम्मान, गोरखाको प्रतिष्ठा, पहिचान र युवा जागरणको उत्सव पनि हो । जिल्लाको इतिहासमै अहिलेसम्मकै सर्वाधिक राशीको पुरस्कार रहेको यो प्रतियोगिताले खेल क्षेत्रको विकासमा नयाँ आयाम थप्ने निश्चित छ ।
आजको डिजिटल युगमा शारीरिक गतिविधिभन्दा मोबाइल र ग्याजेटमा झुम्मिने युवा पुस्ताका लागि फुटबल जस्ता खेलहरू अपरिहार्य छन् । त्यसमाथि मोफसलका जिल्लाहरुमा पनि यति ठूलो पुरस्कार राशीको आयोजनाले स्थानीय खेलाडीहरूलाई खेललाई नै करियर बनाउन सकिन्छ भन्ने आत्मविश्वास र हौसला प्रदान गर्दछ ।
त्यस्तै गोरखामा हुने यो भव्य आयोजनाले खेल पर्यटनलाई पनि ठूलो टेवा पु¥याउने विश्वास लिन सकिन्छ । देशभरबाट आउने टिम, समर्थक र दर्शकहरूका कारण स्थानीय होटल, व्यवसाय र पर्यटकीय स्थलहरूको प्रवद्र्धन हुनेछ । यसले गोरखाको ऐतिहासिक विरासतलाई नयाँ पुस्तामाझ चिनाउन थप मद्दत पुग्नेछ ।
मैदानमा उत्रिने युवाहरूको पसिना र जोशले नै समृद्ध गोरखा र सबल नेपालको सपना साकार पार्नेछ ।




