| सोमवार, कार्तिक २३, २०८३

बिरासत जोगाउँदै ऐतिहासिक गोरखा महोत्सव

नेपालमा पहिलो पटक २०५४ सालमा ‘नेपाल भ्रमण वर्ष’ (भिजिट नेपाल १९९८) मनाउँदा गोरखामा पहिलो पटक गोरखा महोत्सव मनाइएको थियो । त्यतिबेला पुस २७ को छेको पारेर गोरखा महोत्सव मनाइएको थियो । राजतन्त्र रहेका बेला पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस पनि मनाउने गरिन्थ्यो ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मस्थल भएकाले पृथ्वीजयन्तीलाई गोरखाले हमेसा महत्वका साथ लिन्थ्यो र लिइरहेको पनि छ । त्यसैले पहिलो गोरखा महोत्सव पनि पुस २७ कै आसपास गरिएको थियो । अहिलेजस्तो त्यतिबेला देशभर मेला महोत्सव आयोजना हुन्थेनन् । काठमाडौं, पोखरा जस्ता ठूला सहरमा बाहेक अन्य जिल्लाहरुमा, सहरहरुमा मेला महोत्सव गर्ने परम्परा थिएन । गोरखामा भने ‘भ्रमण वर्ष’को अवसरमा महोत्सवको आयोजना भएको थियो । यसलाई राष्ट्रभर नै महत्वका साथ लिइएको थियो ।

यही बिरासतलाई जोगाउँदै अहिले पनि गोरखा महोत्सव मनाउने गरिएको छ । ‘गोरखा महोत्सव’को आयोजना उद्योगी, व्यापारीहरुको छाता संस्था गोरखा उद्योग वाणिज्य संघले गर्ने गरेको छ । यसको महत्व र गरिमाको यथोचित कदर गर्दै बर्सेनि भन्दा पनि हरेक दुई–दुई बर्षमा गोरखा महोत्सव गर्ने गरिन्छ ।

हरमटारीस्थित खेलकुद मैदानमा बर्सेनि अन्य विभिन्न संघ, संस्थाहरुले मेला त आयोजना गर्ने गर्छन्, तर अरुलाई विभिन्न नाम दिए पनि ‘गोरखा महोत्सव’को ब्राण्ड गोरखा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवले मात्र पाएको छ, जुन गर्वको कुरा हो ।

तर यदाकदा ‘गोरखा महोत्सव’को गरिमालाई नजरअन्दाज गर्दै कुनै ठेकेदारी कम्पनीलाई ‘ठेक्का’मा महोत्सव आयोजना गर्न दिने चेष्टा भएको देखिन्छ । यदि अन्य विभिन्न संघ संस्थाले झैं गोरखा उद्योग वाणिज्य संघले पनि ‘ठेक्कामा’ ‘गोरखा महोत्सव’लाई बेच्ने हो भने यसको महत्व पनि चपरीमुनि पुग्नेछ । तसर्थ महोत्सवको गौरव जोगाउन झञ्झट मान्नु उचित हुदैन ।

प्रतिक्रिया दिनुहोस्