
आसन्न चुनावका लागि नयाँ पुस्ताका मतदाता बढे
आसन्न फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि संकलन गरिएको मतदाता नामावलीमा नयाँ पुस्ताको मतदाता संख्या उल्लेख्य वृद्धि भएको छ । यसअघि २०७९ मा सम्पन्न निर्वाचनमा कूल दुईलाख १८ हजार ५६३ जना मतदाता रहेकामा यसबर्षको निर्वाचनमा दुईलाख ३० हजार ४५४ जना मतदाता भएका छन् ।
यसरी बिगत र अहिले तुलना गर्दा मतदाता संख्या ११ हजार ८९१ जनाले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ मा देशकै जनसंख्या घटेको देखियो । गोरखाको जनसंख्या पनि घटेकै देखियो । तर मतदाता संख्या भने बढेको पाइएको छ । यो सुखद पक्ष हो ।
यसलाई विभिन्न दृष्टिकोणबाट सुखद पक्ष मान्न सकिन्छ । जनसंख्या घटिरहेका बेला मतदाताको संख्या भने बढ्नु भनेको निर्वाचनप्रति मतदाताको चासो बढेको हो भन्ने बुझिन्छ । अथवा बिगतका चुनावमा राजनीतिप्रति उदासिन भएर मतदानमा सहभागी हुन आनाकानी गरेका नागरिकले पनि यसपटकको निर्वाचनमा भने मतदान गर्न उत्साहित देखिए कि भन्ने संकेत हो ।
अर्थात अघिल्ला निर्वाचनमा राजनीतिप्रति वितृष्णा जागेका नयाँ पुस्ताले यसपटकको निर्वाचनमा मतदान गर्न जोश, जाँगर देखाएर मतदाता नामावली संकलन गराए कि भन्ने संकेत हो । यदि यसो हो भने अबको निर्वाचनमा मतदानको दर पनि अवश्य बढ्नेछ । यसअघिको निर्वाचनमा मतदान पनि ५२ प्रतिशत, ५६ प्रतिशत, ५८ प्रतिशत मात्र हुने गरेको थियो ।
अबको निर्वाचनमा युवा पुस्ताको पनि जोडदार सहभागिता हुने अनुमान गर्न सकिन्छ । अर्थात अबको निर्वाचनमा ६० प्रतिशत भन्दा धेरै मतदाताले मतदान गर्नेछन् भन्ने आशा गर्न सकिन्छ । यसले सही नेतृत्वलाई निर्वाचनमा जिताउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।




