
अब पालो गोरखा दरबार जाने सडक स्तरोन्नतिको
गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयको संयुक्त कार्यक्रमअनुसार गोरखा बसपार्क क्षेत्रमा फुटपाथ र सडक चौडा बढाउने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हाल अन्तिम चरणको कालोपत्रेको काम भैरहेको छ । गोरखा नगरपालिकाले सदरमुकामको खोलखोलेदेखि बसपार्कसम्म सडकको दुवैतर्फ फुटपाथ निर्माणको कामलाई बहुवर्षीय योजनाको रुपमा अघि सारेको छ ।
सोहीअन्तरगत बसपार्कदेखि शक्तिचोकसम्मको ३०० मिटर सडकमा फुटपाथ निर्माणसहित सडक स्तरोन्नति गरिएको हो । फुटपाथ निर्माणका लागि गोरखा सडक योजनाले एक करोड ७१ लाख र गोरखा नगरपालिकाले एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
गोरखा नगरपालिकाले आफ्नो जिम्मेवारी अन्तरगत ८५ प्रतिशत काम सम्पन्न गरेको छ । नगरपालिकाले सडकको दुवैतर्फ फुटपाथ निर्माण र आफ्नो जिम्मेवारीतर्फको नाला निर्माण र सडक कालोपत्रेको जिम्मेवारी लिएको थियो । जसको सबै कामहरु लगभग सम्पन्न भैसकेका छन् । सडक कालोपत्रे मात्र बाँकी छ । यही पुष मसान्तभित्र सबै काम सम्पन्न हुने तयारी छ ।
गोरखा सडक योजनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।
आयोजनाअन्तरगत हाल कालोपत्रेको काम भैरहेको छ । हरमटारीको सहिदगेट माथिको मुख्य सडकखण्डमा कालोपत्रेको काम पनि भैरहेको छ । फुटपाथ अन्तरगत सडक योजना कार्यालयको जिम्मेवारीमा परेको ह्युम पाइप राख्ने, नाला निर्माण गर्ने र कालोपत्रेको काम पनि लगभग सम्पन्न भइसकेको छ । कार्यालयले मंसिरभित्र काम सम्पन्न गर्नेगरी निर्माण कार्यलाई तिव्रता दिएको छ ।
बसपार्क क्षेत्रको फुटपाथ निर्माणको काम सम्पन्न भएसँगै हरमटारीदेखि पेट्रोलपम्पसम्म दुवैतर्फ फुटपाथ निर्माणको काम सुरु गर्ने गोरखा नगरपालिकाको लक्ष्य छ । यति भएपछि अब गोरखा दरबार जाने सडकलाई चौडा बढाउने तथा कालोपत्रे गर्ने तथा स्तरोन्नति गर्ने कार्य गर्नुपर्ने आवश्यकता छ ।




