| सोमवार, कार्तिक २३, २०८३

पालुङ्टारमा अटो चल्नु बिचारणीय बिषय

गोरखामा दुईवटा नगरपालिकाहरु छन्, १ गोरखा नगरपालिका, २ पालुङ्टार नगरपालिका । गोरखा नगरपालिका पूरै भिरालो धरातलमा अवस्थित छ । पालुङ्टार नगरपालिका समथर धरातलमा । यही समथर भूधरातलको लाभ लिँदै पालुङ्टारमा अटो(तीनपाङ्ग्रे सार्वजनिक सवारी साधन) सञ्चालनमा आउने भएको छ । अटो सञ्चालनका लागि स्थानीय तहले रुट निर्धारणका लागि सिफारिस गरेको छ ।

विभिन्न वडाका भूभाग अटो रुटको सञ्जालमा जोडिने गरी आठ वटा रुट निर्धारण गरेको हो । ठाँटीपोखरीबाट ओख्ले, धाराचौतारो, लुइँटेल, हवाइग्राउण्ड प्रहरी बिट र पौवाटारमा अटो संचालन हुने छ । पौवाटारबाट सेरा, बिमलनगर र बिरुवाटार चल्ने छ ।बिरुवाटारबाट फेदी जुडीखोला, रातमाटे, दुभार र नयाँपुल पुग्ने छ भने रातमाटेबाट बन्चरे दुबार नयाँपुल, अकला, सत्रसय, बिरुवाटार र मूलाबारीसम्म अटो संचालन हुनेछ ।

त्यस्तै पौवाटारबाट सेरा र बिर्दी, ढुंगेटारी, ढुङ्गेटारीबाट सातदोबाटो, दशकिलो र भट्टवेशीसम्म अटो चल्ने रुट तय भएको छ । त्यस्तै सातदोवाटोबाट पाउरोटी भण्डार, जोगी डिही, ढुङ्गेटारी, छेपेटार पुल र जोर्ती चौतारासम्म जाने गरी रुट स्वीकृतिका लागि सिफारिस गरिएको छ । जोर्ती चौताराबाट वडा नम्वर १ को कार्यालय, बिमिरे र सातदोवाटोसम्म अटो चल्ने गरी रुट बनाइएको छ ।

जहाँतहीँ सार्वजनिक सवारी साधन चलेपछि यात्रुले सुथप भाडादरमा यात्रा गर्न पाउने सकारात्मक कुरा छ । तर निर्धारणका लागि सिफारिस गरिएका रुटहरु सबै समथर भूभागमा छैनन् । कैयौँ रुटहरु उकालो, ओह्रालोमा पर्दछन् । त्यस्ता सडकमा अटोजस्तो कमजोर पिकअप भएको सवारी साधन चल्न कत्तिको सहज हुन्छ ? विचारणीय कुरा हो । यदि उकालो चढ्न नसकी अनियन्त्रित भई दुर्घटना हुने दर बढ्यो भने त्यसको क्षति कसले ब्यहोर्न सक्छ ? विचारणीय छ ।

त्यतिमात्र होइन, केहीबाहेक धेरै सडक कच्ची छन् । कच्ची सडकमा अटोको यात्रा कठिन र कष्टकर हुनेछ । जोखिम पनि उत्तिकै । तसर्थ कालोपत्रेबाहेकका सडक र भिरालो(उकालो) सडकमा अटो चल्नु व्यवहारिक नहुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्