
सहिदलखन ७ बाट पाठ सिकौँ
सहिद लखन गाउँपालिकाको वडा नं. ७ ले लगातार दुईबर्षसम्म सतप्रतिशत कार्यप्रगति गरेबापत गाउँपालिकाबाट पुरस्कार प्राप्त गरेको छ । समयसीमाभित्रै सतप्रतिशत कार्यप्रगति गर्ने वडालाई पुरस्कृत गर्ने गाउँपालिकाको पूर्वनिर्धारित कार्यक्रम अनुसार वडा नं. ७ लाई सम्मान गरिएको हो । यसबर्ष पनि दोस्रो चौमासिक भित्रै सबै योजना तथा कार्यक्रम सम्पन्न गरी पुरस्कार दाबी गर्ने वडाको लक्ष्य छ ।
सो वडाका तीनवटा योजना गत असोज २, ३ र ४ गतेभित्रै सम्पन्न गरी रकम भुक्तानीसमेत लगिसकेका छन् । ती तीन उपभोक्ता समितिलाई वडा कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी प्रसंसापत्र प्रदान गरेको छ । वडाले विनियोजन गरेका २६ योजनाहरुमध्य १६ वटा विकास निर्माणका र १० वटा कार्यक्रमहरु रहेका छन् । २६ मध्य १५ वटा सम्पन्न भइसकेका छन् । अर्थात विकास निर्माणसम्बन्धी १६ योजनामध्य १२ वटा सम्पन्न भइसकेका छन् । चार वटा पनि धमाधम काम सञ्चालन भइरहेका छन् । पुस दोस्रोसाताभित्र सम्पन्न गर्ने गरी काम अघि बढिरहेको छ ।
सो वडाले २६ वटै योजना तथा कार्यक्रम पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । आँबुखैरेनी गाउँपालिकाले पनि यथासमयमै योजना तथा कार्यक्रमहरु सम्पन्न गरेर सर्वत्र प्रसंसा कमाउने गर्छ । यसरी नै सबै वडाहरु, सबै पालिकाहरुले यथासमयमै योजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने प्रयत्न गर्नुपर्छ । यसले वडा, पालिकालाई मात्र नभै सिंगो मुलुकलाई नै संवृद्धितर्फ उन्मुख गराउँछ । विकासप्रति, राजनीतिप्रति, नेतृत्वप्रति सकारात्मक भाव पैदा हुन्छ ।
चेतनाको विकास भएको आजको समयमा पनि योजना अलपत्र पार्ने, बजेट दुरुपयोग गर्ने, दुरुपयोग गरेको टुलुटुलु हेरेर बस्ने, बजेट तथा कार्यक्रम फ्रिज गर्ने, फिर्ता पठाउने वडाहरु, पालिकाहरु छन् । उनीहरुलाई झक्झक्याउनु पर्छ । सहिद लखन ७, आँबुखैरेनीहरुको कार्यशैलीको अनुशरण गरी यथासमयमै विकास निर्माणका काम गरी सक्षम, सफल वडा तथा पालिका निर्माण गर्नुपर्दछ ।




