
पुनर्निर्माणका लागि अर्थ संकलन सकारात्मक प्रयास
गत भदौ २३ र २४ गते नयाँ पुस्ताको बिद्रोहका बेला क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारले सर्वसाधारणसंग पनि सहयोग अव्हान गरेको छ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
जसअनुसार व्यक्ति र संस्था गरेर हालसम्म करिब सवा ९ करोड रुपैयाँ सहयोग संकलन भएको छ । सहयोग अभियान निरन्तर चलिरहनेछ । यसै क्रममा गोरखाका सामाजिक संघसंस्थामा आवद्ध नागरिक समाजले सो प्रयोजनका लागि अर्थ संकलन अभियान सञ्चालन ग¥यो । आइतबार एकदिन सञ्चालन गरेको अभियानमा एकलाख एकहजार अर्थ संकलन भएको छ ।
सो समूहले सोमबार र मंगलबारसम्म राहत रकम संकलन अभियान चलाउने र संकलित रकम बुधबार प्रमुख जिल्ला अधिकारीको रोहबरमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा जम्मा गरिदिने जनाएको छ ।
‘पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ, आँधी आए तराइमा पहाडले छेक्नुपर्छ’ भन्ने गीतको भावले भनेझैँ जसलाई गाह्रो अप्ठ्यारो पर्छ, अर्को पक्षले त्यसमा साथ र सहयोग गर्नुपर्छ । जनतालाई समस्या आइपरे अभिभावक बनेर रहेको सरकारले साथ र सहयोग गर्नुपर्छ, जुन गरिरहेकै छ । अनि सरकारलाई गाह्रोसाह्रो परेका बेला नागरिक तहबाट सहयोग गर्न जुट्नुपर्छ । यो जो सुकैको दायित्व, जिम्मेवारी अर्थात कर्तव्य हो ।
सो आन्दोलनका बेला असंख्य सार्वजनिक तथा नीजि सम्पत्तिको क्षति भयो । सिँहदरबार, सर्वोच्च अदालत लगायतका राष्ट्रिय सम्पत्ति तहसनहस भए । यो अपूरणीय क्षतिमा मल्हम लगाउनका लागि नागरिक तहबाट पनि ‘शीत उभाएर घैला भर्ने’ अभियानमा साथ र सहयोग गर्नु सबैको कर्तव्य हो ।
जसले यो राहत संकलन अभियानमा अगुवाइ लियो, उ धन्यवादको पात्र छ ।




