| सोमवार, कार्तिक २३, २०८३

रुञ्चेतका किवी किसानको समस्या समाधान गर

कृषिलाई व्यवसायिकरण, यान्त्रिकरण गर्ने भनेर प्राय सबै पालिकाहरुले आफ्ना बजेट भाषणमा समावेश गर्छन् । कार्यक्रमहरुमा बोल्ने मुख्य नारा पनि यही हुने गर्छ । तर भाषण गरेजस्तो व्यवहार देखिदैन ।

यसको समसामयिक दृश्य धार्चे गाउँपालिका २ रुञ्चेतमा हेर्न सकिन्छ । आठबर्षअघि त्यहाँ एक गैरसरकारी संस्थाले किवी खेतीको सम्भाव्यता अध्ययन गरी किसानलाई त्यसतर्फ उन्मुख गरायो । किसानहरु पनि आकर्षित भए । अहिले गाउँका १८ जना किसानले किवी खेती गरेका छन् । एक, दुई रोपनीदेखि १०, १२ रोपनीसम्म जग्गामा उनीहरुले किवी फलाएका छन् ।

किवी खेतीबाट लाखौं आम्दानी गर्ने उनीहरुमा हुटहुटी छ । तर सोचेभन्दा फरक परिणामले उनीहरु अताल्लिएका छन् । सुरुका बर्षहरुमा उत्पादिन किवीको बिक्री कहाँ गर्ने भन्ने चिन्ता किसानलाई थियो । ब्यवशायीक रुपमा उत्पादन गरेका हरेक बस्तु कहाँ, कसरी, कति मूल्यमा कसलाई बिक्री गर्ने भन्नेमा किसान अन्यौलमा थिए । अहिले प्रचार प्रसार भइसकेको छ । कहाँ लगेर बेच्ने भन्ने समस्या छैन । तर कसरी लैजाने भन्ने समस्या भने ठूलो छ ।

सडक सञ्जाल सहज नभएका रुञ्चेत जस्ता ठाउँमा किसानको किवी बजारसम्म ल्याउन वा बिक्री गर्न चुनौती छ । स्थानीय सरकारले किसानको उत्पादन सजिलै बजारसम्म पु¥याउन सहज वातावरण बनाउन आवश्यक छ । बारीमा कृषि उपज पाकेपछि किसान खुशी हुनुपर्नेमा रुञ्चेतका बासिन्दा भने चिन्तित छन् । पाकेर बारीमै झरेर जाला भन्ने चिन्ता उनीहरुमा छ ।

मुख्य सडकसम्म लैजाने सहायक मार्ग नहुँदा उनीहरुले उत्पादनलाई बजार पु¥याउन सकेका छैनन् । तसर्थ स्थानीय सरकारले उनीहरुको समस्या समाधान गर्न सो सहायक मार्ग यथासीघ्र मर्मतसम्भार गरी कृषि उपज खेर जानबाट जोगाउनु पर्छ । त्यसले किसानमा खुशियाली प्रदान गर्नेछ । उनीहरु उत्पादनप्रति आकर्षित हुनेछन् ।

अनि मात्र किसान ब्यवशायिक बन्न प्रेरित हुन्छन् । उत्पादन बढाउने योजना बनाउँदैमा वा किसानलाई उत्पादनमा सहयोग गर्दा नै बजारको पनि योजना बनाउनुपर्छ । यसले मात्रै हामीले भनेजस्तो कृषिमा संभावना र अवसर दुबै सिर्जना गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्