
कसेरीफाँटको उर्वर भूमि यथासीघ्र आवाद बनोस्
पालुङ्टार नगरपालिका ६ स्थित कसेरीफाँटको हजार रोपनी जग्गा बिगत ६ बर्षदेखि बाँझो छ । अहिले त्यहाँ स्थानीयबासीका गाईबस्तु चर्ने गरेका छन् । ठूलो बाढी पहिरोले बडहरे खोलाको झण्डै डेढसय मिटर कुलो बगाएर क्षतिग्रस्त बनाएपछि सो जग्गा बाँझो भएको हो ।
सो जग्गा बाँझो भएपछि यसमा आश्रित स्थानीयबासी छाक टार्न अन्य विकल्पको भरमा छन् । १८०० मुरीमाटो बाँझो भएपछि यहाँका ६३ परिबार त प्रत्यक्ष प्रभावित भए नै । उनीहरुसंग धान किनेर उपभोग गर्ने उपभोक्ताले पनि अहिले बाहिरबाट खरिद गरेर जीविका चलाएका छन् ।
स्थानीय किसानको स्वामित्वमा रहेको सो कसेरीफाँट बि.सं. १९९५ तिर पनि यसरी नै बाढी पहिरो गएर कुलो क्षतिग्रस्त भएपछि दशकौं बाँझिएको थियो । बाँझो जग्गाको लामो समयको कर(तिरो) तिर्न नसकेपछि बि.सं. २०३८ तिर बन्दिपुरे साहुले तिर्नुपर्नेजति सबै कर तिरेर सो जग्गाको स्वामित्व आफूले लिएको किंवदन्ती छ । त्यसपछि पनि अधियाँका रुपमा खेतीपाती भने उनै यसअघिका मोहियाले गर्न सुरु गरे ।
उनीहरुले झण्डै १५ बर्ष अधियाँका रुपमा खेती गरेपछि माओवादीले सो जग्गा कब्जा गरेका थिए । अर्थात खेती स्थानीय मोहियाहरुले गरे भने जग्गाधनीले पाउनु पर्ने धान माओवादी नेता कार्यकर्ता र साविकको आम्दानी मोहिया किसानले नै लिइरहे । अहिले फेरि छ बर्षदेखि जग्गा बाँझो भएको छ । सो जग्गाको प्रचलित कानूनबमोजिम मोहियानी हकबापत तीनभागको एकभाग मूल्य किसानलाई दिएर जग्गा धनीले जग्गा आफ्नो एकल स्वामित्वमा लिएका छन् ।
स्वामित्वको विषय मोहिया र जग्गाधनीको बीचको हो । तर यति ठूलो क्षेत्र बाँझो बस्नु दुखद विषय भएकाले सो जग्गा यथासीघ्र आवाद होओस् भन्ने सर्वसाधारणको चाहना हो । र चाहना यसको उत्पादनले यस क्षेत्रका बासिन्दा आत्मनिर्भर बनुन् भन्ने हो ।




