
सडक छेउको संरचना हटाउन अजिरकोट गाउँपालिकाको आग्रह
अजिरकोट गाउँपालिकाले सडक छेउमा पर्ने घर, टहरा तथा अस्थाई संरचना हटाउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै पालिकाले वडा नं ३ भच्चेक बजारस्थित अस्पताल मार्ग क्षेत्रमा सडक मापदण्डभित्र रहेका घर, टहरा तथा अस्थाई संरचना हटाउन आग्रह गरेको हो । सो सडकखण्ड कालोपत्रे गर्न लागिएकाले सडक मापदण्डभित्र बनेका संरचना भत्काउन आग्रह गरिएको पालिका अध्यक्ष दिपक देवकोटाले बताए ।
‘उक्त सडक स्तरोन्नती कार्यलाई सहज, गुणस्तरीय र समयमै सम्पन्न गर्न आवश्यक भएकाले बाटो फराकिलो गर्ने काम भैरहेको छ’, उनले भने, ‘सडकको केन्द्रदेखि ३.५ मिटर दाँया बाँयाभित्र रहेको घर, टहरा, छानो, पर्खाल, पसल तथा अन्य अस्थायी संरचना हटाउनुपर्ने आवश्यक भएको हुँदा यो सूचना निकालेका हौ ।’ सूचना प्रकाशन भएको मितिले सात दिनभित्र संरचनाहरु हटाउन उनले आग्रह गरे ।




