| सोमवार, जेष्ठ २४, २०८३

सकिमनासँग मान्छेको नाता

संस्कृतिलाई मान्छेको, समुदायको, राज्यको अनि मुलुकको पहिचानसंग सान्निध्य गरेर हेरिन्छ । जहाँ संस्कृति छ, त्यहाँ उसको पहिचान छ, सभ्यता छ, जहाँ संस्कृति छैन, त्यहाँ न पहिचान, न सभ्यता रहन्छ । तसर्थ संस्कृतिको महत्व मानव अस्तित्वसंग सन्निकट हुन्छ ।

नेपाल बहुधार्मिक, बहु सांस्कृतिक, बहुभाषाभाषी भएको र भौगोलिक विविधताले भरिएको मुलुक हो । यहाँका विभिन्न जातजातिको बसोबास छ । उनीहरुको आ–आफ्नै मौलिक संस्कृति तथा परम्परा छ । जसको उत्तिकै महत्व छ ।
नेवार समुदायको एक महत्वपूर्ण संस्कृति तथा परम्परा हो सकिमना ।

जूनमा मकैलगायतका अन्न सुकाएर मनाइने यो पर्व गोरखाको नेवार समुदायको बाहुल्यता भएको ठूलोआँगनमा हर्षोल्लासका साथ मनाइन्छ । बिगत ३० बर्षदेखि रोकिएको यो पर्व केहीबर्ष यता पुनः निरन्तरता दिन थालिएको छ । ठुलोआँगनमा बिभिन्न थरिका अन्न जूनको प्रकाशमा सुकाएर यो पर्व मनाइन्छ । भुटेको मकै, बदाम, भटमास, चना, केराउ लगायतका अन्न सुकाएर यो पर्व मनाइन्छ ।

स्थानीय नेवार समुदायले आ–आफ्नो घरबाट बिभिन्न थरिका अन्नबाली लिएर आउँछन् । त्यसलाई जूनको प्रकाशमा सुकाएर प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ । कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले सो अन्नमा पनि अमृतको वर्षा हुने जनविश्वास छ । त्यसलाई जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वास गरिन्छ ।

यसरी सुकाएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको छ । ३० बर्षअघि नेवार समुदायले परम्परागत रुपमा आ–आफ्नो घरमा अन्न सुकाउने प्रचलन थियो । केहीबर्ष रोकियो र २०७६ सालदेखि ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले जगाउने प्रयास ग¥यो । संस्कृति प्यारो हुन्छ । यसलाई जोगाएर राख्नु सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्