| सोमवार, कार्तिक २३, २०८३

लाप्राकलाई आरोहीको गाउँको रुपमा विकास गर

करिब ६०० घरधुरीले भरिभराउ उत्तरी गोरखाको लाप्राक गाउँ आज केवल एउटा सुन्दर बस्ती मात्र नभई नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायपछिको सबैभन्दा धेरै आरोही जन्माउने गौरवशाली थलो बनेको छ । लाप्राकका बासिन्दाहरूले आफ्नो साहस, दृढता र प्राकृतिक क्षमताको बलमा हिमाल आरोहणलाई जीवनशैलीका रूपमा अँगाल्दै आएका छन् ।

यस गाउँका सयभन्दा धेरै युवाले ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेका छन् भने १८ जनाले ८ हजार मिटरभन्दा अग्ला हिमशिखरहरूमा सफलतापूर्वक पाइला टेकेको तथ्याङ्क छ । यसले लाप्राकको असाधारण क्षमतालाई उजागर गर्दछ ।
लाप्राकको यो अतुलनीय आरोही गाउँको पहिचानले नेपालको पर्यटन क्षेत्रमा एक नयाँ र शक्तिशाली अध्यायको सुरुवात गर्न सक्ने प्रबल सम्भावना बोकेको छ । अहिले धेरैजसो लाप्राकीहरू पर्वतारोहणसँग जोडिएका छन् ।

अब उनीहरूको भूमिका भरिया, सहायक गाइड वा कहिलेकाहीँ गाइडको रूपमा मात्र सीमित नभई यो अवस्थामा परिवर्तन ल्याउनु अपरिहार्य छ । हुन त ट्रेकिङ एजेन्सी सञ्चालन गरी व्यवसायिक रुपमा पर्यटन व्यवसाय गर्ने लाप्राकका बासिन्दाको संख्या पनि छ । लाप्राकका युवाहरूको अद्वितीय अनुभव र कौशललाई मध्यनजर गर्दै, उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको माउन्टेन गाइड र ट्रेकिङ एजेन्टको रूपमा स्थापित गर्न ढिला गर्नु हुँदैन ।

स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारको पनि भूमिका अपरिहार्य छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार, साथै नेपाल पर्वतारोहण संघ, लगायतका निकायहरूले लाप्राकी युवाहरूलाई विशेष छात्रवृत्तिसहित अन्तर्राष्ट्रिय माउन्टेन गाइडको तालिम, अंग्रेजी भाषा र व्यवसाय सञ्चालनसम्बन्धी सीपमा लगानी गर्नुपर्छ ।

त्यस्तै लाप्राकका आरोहीहरूको अगुवाइमा स्थानीय ट्रेकिङ तथा आरोहण कम्पनीहरू स्थापना गर्न प्रोत्साहन गर्नुपर्छ । उनीहरूलाई कम्पनी दर्ता, वित्तीय व्यवस्थापन र मार्केटिङमा आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ, ताकि विदेशबाट आउने आरोही समूहहरूले सिधै लाप्राकका कम्पनीमार्फत सेवा लिन सकून् ।

त्यस्तै गाउँमा स्थापित आरोही पार्क र संग्रहालयलाई व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गरी पर्वतारोहण इतिहासको अध्ययन केन्द्रको रूपमा चिनाउन सकिन्छ । यसले पर्यटकलाई लाप्राकसम्म आकर्षित गर्न थप मद्दत गर्नेछ ।

एकीकृत नमूना बस्तीलाई आरोहीहरूको कथा सुनाउने र स्थानीय गुरुङ संस्कृति झल्काउने होमस्टे सञ्जालको रूपमा विकास गर्न सकिन्छ । यसबाट पर्वतारोहणबाहेक अन्य स्थानीय बासिन्दाको पनि आयआर्जन बढ्छ र समग्र पर्यटन व्यवसायले गति लिन्छ ।

प्रतिक्रिया दिनुहोस्