| सोमवार, अशोज ४, २०८३

हाट बजार सञ्चालन पालुङ्टारको अनुकरणीय काम

पालुङ्टार नगरपालिकाले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न र किसानहरूलाई आयआर्जनमा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले दशैं अघिदेखि हाट बजार सञ्चालन गर्न थालेको छ । स्वरोजगारमा लागेर वैदेशिक रोजगारीमा जाने कामलाई न्यूनिकरण गर्ने यस्तो प्रयास उच्च कदरयोग्य काम हो । यो कदम केवल बजार व्यवस्थापन मात्र नभई स्थानीय अर्थतन्त्रको जग बलियो बनाउने दूरदर्शी योजनाको प्रारम्भ हो ।

हाट बजारमा स्थानीय उत्पादन किनबेच गरिन्छ । उपभोक्ताले पनि स्वच्छ, सफा, ताजा उत्पादन सुपथ मूल्यमा पाउँछन् । किसानले पनि आफ्नो उत्पादन बिचौलिया(ठेकेदार)मार्फत नभै आफैले बेच्न पाउँदा केही हदसम्म भनेपछि राम्रो मूल्य पाउँछन् । त्यसैले हाट बजार उत्पादक र उपभोक्ता दुवैका लागि राम्रो कुरा हो । यो ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो । यसले किसानहरूले आफूले उत्पादन गरेका कृषिजन्य वस्तुहरू, फलफूल, तरकारी तथा अन्य स्थानीय उत्पादनहरू सिधै उपभोक्तामाझ पु¥याउन सक्ने वातावरण बनाउँछ । बिचौलियाको अनावश्यक हस्तक्षेप कम हुँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् । उपभोक्ताले पनि ताजा तथा सस्तो सामग्री प्राप्त गर्न सक्छन् ।

हाट बजार सञ्चालनले किसानहरूलाई स्वरोजगार बन्न ठूलो टेवा पुगेको छ । कृषि पेशालाई सम्मानित र नाफामूलक बनाउनमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ । सबैभन्दा महत्वपूर्ण कुरा, यसले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सक्ने बलियो आधार तयार गर्छ । जब आफ्नै ठाउँमा श्रमको सम्मान हुन्छ, आम्दानीको अवसर सिर्जना हुन्छ र उत्पादनको बजार सुनिश्चित हुन्छ, तब युवाहरू स्वाभाविक रूपमा गाउँघरमै बस्ने वातावरण बन्छ । पालुङ्टार नगरपालिकाको यो पहलले गाउँमै बसेर मेहनत गर्ने र पसिना बगाउने सबैलाई ठूलो ऊर्जा दिएको छ ।

स्थानीयको जीवनस्तर उठाउन र आर्थिक क्रियाकलापलाई गति दिन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । यस सन्दर्भमा, पालुङ्टार नगरपालिकाले हाट बजार सञ्चालन गरी स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएर जुन उदाहरणीय कार्य गरेको छ, त्यो अन्य पालिकाहरूका लागि पनि अनुकरणीय छ ।

प्रतिक्रिया दिनुहोस्