| सोमवार, कार्तिक २३, २०८३

आउँदा दिनमा बढि भाडा असुल्ने अभ्यास समाप्त होओस्

मुख्यगरी गोरखामा तीन सार्वजनिक यातायात सेवा कम्पनीहरु छन् । गोरखामै दर्ता भएका दरौंदी गोरखा यातायात सेवा प्रालि, गोरखा मनकामना यातायात सेवा प्रालि(ट्याक्सी सञ्चालक) र पृथ्वीराजमार्ग बस सञ्चालक सेवा प्रालि ।

यी प्रालि माताहत चल्ने बस, मिनीबस, माइक्रोबस तथा ट्याक्सीहरुले दशैंका बेला घर आउँदा र कार्यक्षेत्रतर्फ फर्कदा यात्रुहरुको बाध्यात्मक परिस्थितिको लाभ उठाउँदै अत्याधिक भाडा लिएको गुनासो सर्वत्र चर्चाको विषय बन्यो । कतिपय व्यवसायीले नियमित क्यूमा बस सेवा सञ्चालन गरे । क्यूबाहेकका सबै यातायात व्यवसायीले दोब्बरसम्म धेरै भाडा लिएर बस चलाएको गुनासो आयो ।

अहिलेका यात्रु बिगतका जस्ता गोप्य छैनन् । बाध्यात्मक अवस्थामा पारेर धेरै भाडा असुलेको भिडियो खिचेर सामाजिक सञ्ञालमा छताछुल्ल पारेको देखियो । बिगतमा डरत्रासमा पारी अधिक भाडा लिएको बारे बाहिर सार्वजनिक नगर्न चेतावनी दिने गरेका थिए । अहिले पनि चेतावनी नगरेका होइनन्, तर प्रविधिमैत्री यात्रुहरुले मनपरी भाडा असुलेको गोप्य गरी भिडियो खिचेर सार्वजनिक गरेको देखियो ।

कतिपयले भाडा तिरेर पनि प्रहरी, प्रशासनलाई टेलिफोन गरी बढि भाडा तिरेको गुनासो गरे । बढि भाडा नतिरी बस चढ्न नपाउने भएकाले बढि भाडा तिरे तर पछि प्रहरीले उपलब्ध गराएको टेलिफोन नंबरमा सम्पर्क गरी सो कुरा जानकारी गराए । त्यसपछि प्रहरीले सो यातायात व्यवसायीबाट बढि भाडा असुलेर दाबी गर्ने यात्रुलाई फिर्ता गरायो ।

यो अभ्यास गोरखामा यो बर्ष पहिलो पटक भएको हो । यो अभ्यास निकै फलदायी भयो । पहिलो बर्ष भएकाले बढि तिरेको भाडा फिर्ता लिनेको संख्या कम भएको हुनसक्छ । अथवा प्रमाणसहित दाबी गर्ने बारे जानकारी नपाएर पनि हुनसक्छ । अब आउँदा बर्ष यसलाई अझै प्रभावकारी रुपमा अपनाएर यात्रुसंग असुलेको बढि भाडा फिर्ता गराउनुपर्छ । त्यसपछि यो परम्पराको अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्