| सोमवार, कार्तिक २३, २०८३

बढी भाडा लिनेमाथि कारबाही कदमको प्रशंसा

नेपालीहरूको महान् चाडपर्व–दशैँ भर्खरै समाप्त भएको छ । यतिबेला दशै मनाएर आ–आफ्नो कार्यस्थल(गन्तव्य)तर्फ फर्कनेको भीड लागेको छ । हरेकवर्ष जस्तै यातायात व्यवसायीहरूले भिडभाडमा उत्पन्न बाध्यात्मक परिस्थितिको फाइदा उठाई यात्रुहरूसंग झण्डै दोब्बर बढि भाडा असुलेका छन् ।

मनपरी भाडा असुल्ने समस्याले विकराल रूप लिएको बारे आमसञ्चार माध्यमहरुमा गुनासो, टिप्पणीहरु प्रसस्त आएका छन् । यही परिवेशलाई मध्यनजर गरी गोरखाको स्थानीय प्रशासनले मनपरी भाडा असुल्ने व्यवसायीहरुलाई कारबाही गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख समेत फिल्डमा खटिएर यातायातका क्षेत्रमा भइरहेका अनियमितता हटाउने प्रयत्न गरेका छन् । कैयौं यातायात व्यवसायी कारबाहीमा परेका छन्, कैयौँसंग उठाइएको बढि भाडा फिर्ता गराइएको छ ।

बिगतबर्षहरुमा पनि यस्तै मनपरी भाडा लिने काम नभएको होइन । तर यसवर्ष भने स्थानीय प्रशासनले चालेको सक्रिय कदम निकै प्रशंसनीय र यात्रुमैत्री साबित भएको छ । चाडबाडको बेला बढी भाडा लिएर यात्रुलाई ठग्ने यातायात व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउने र नियमानुसार भाडा फिर्ता गराउने कदमले आम नागरिकमा आशा र विश्वासको सञ्चार गरेको छ । प्रशासनले सादा पोशाकमा खटिएका टोलीहरू परिचालन गरी सिधै कारबाही गर्ने, जरिवाना तिराउने र यात्रुले तिरेका अतिरिक्त रकम फिर्ता गराउने अभ्यासले कानूनको पालना र जवाफदेहिताको सन्देश दिएको छ ।

यस कार्यले आगामि बर्ष यस्ता कार्य नगर्ने वातावरण बनाउन टेवा दिएको छ । यो कदम केवल केही व्यवसायीलाई कारबाही गर्ने विषय मात्र नभई, उपभोक्ताको अधिकार संरक्षण र सुशासनको प्रत्याभूति दिने महत्वपूर्ण सुरुवात पनि हो । यद्यपि, यो निगरानी र कडाइ सेलाउनु हुँदैन, स्थानीय प्रशासनले यसलाई निरन्तरता दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्