| मङ्लबार, जेष्ठ ११, २०८३

श्रीखण्डको प्रवद्र्धन गरौँ

श्रीखण्ड एक धार्मिक महत्वको बहुमूल्य वनस्पति हो । विशेषगरी हिन्दू धर्म, संस्कृति अनुसार श्रीखण्ड जन्म संस्कारदेखि मृत्यू संस्कारसम्ममा प्रयोग हुने गर्दछ ।

श्रीखण्ड एक मझौला किसिमको रूख हुने अर्ध परजीवी बिरुवा हो । सामुद्रिक सतहबाट दुई–तीन सयदेखि १००० मिटरसम्म खेतीका लागि सबैभन्दा राम्रो भए पनि १५०० मिटरसम्म पनि यो हुर्केको पाइन्छ । तराई र भित्री मधेशका थोरै भिरालो परेका पानी नजम्ने भूभाग श्रीखण्ड वा सेतो चन्दनका लागि उत्कृष्ट जमिन हुन् ।

गोरखाको भीमसेनथापा गाउँपालिका अश्राङको थाकलडाँडा सामुदायिक वनमा श्रीखण्डका धेरै बोट बिरुवाहरु छन् । त्यस्तै बुलबुले पाखा, सादखोला र जलजला पाखाको ३.९४ हेक्टर क्षेत्रफल जंगलमा झन्डै आठसय बोट श्रीखण्ड रहेका छन् ।
पहिलो पटक २०३२ सालमा स्थानीय राम पाण्डेले श्रीलंकाबाट श्रीखण्डको बिउ भित्र्याएका थिए ।

श्रीखण्ड धार्मिक रुपमामात्र नभै औषधी तथा सौन्दर्य सामग्री बनाउन पनि प्रयोग हुन्छ । चुरो काठको गुणस्तर हेरेर नेपाली बजारमा यसको मूल्य प्रतिकेजी पाँच हजारदेखि दश हजारसम्म भएको पाइन्छ । भारतमा नेपाली रुपैयाँ बीसदेखि पच्चीस हजारसम्ममा किनबेच भएको पाइन्छ ।

जीउ भत्भती पोल्ने, चर्मरोग, कुष्ठरोग, टाउको दुखेको, बिर्सने बानी भएको, स्मरणशक्ति पूर्ण वा आंशिक रूपमा गुमेको, मस्तिष्कका रोग, मुटुको रोग, अम्लपित्त, कमलपित्त, ग्याष्ट्रिक, महिनावारीका बखत धेरै रगत बग्ने र योनीबाट सेतो पानी बग्नेमा चूरकाठको चूर्ण खाइन्छ । काठबाट निकालिएको तेल गनोरियामा दलिन्छ ।

रगत आइरहने खालको पाइल्समा चूरकाठलाई पानीमा पकाई त्यसमा अदुवाको रस मिसाई दलिन्छ र खाइन्छ । काठको विभिन्न किसिमका सौन्दर्य प्रसाधनहरू बनाउन पनि प्रयोग गरिन्छ । सुगन्धको हिसाबले सेन्ट बनाउन, साबन सेम्पू लगायत अन्य कस्मेटिक्समा पनि प्रयोग गरिन्छ । त्यसैले तीनै तहका सरकारले यसको यसको जगेर्ना वा प्रवद्र्धन गर्ने कार्यक्रम बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्