| सोमवार, कार्तिक २३, २०८३

हाकिमसाब्कै कार्यकक्षबाट ड्रोन क्यामेरा गायब ?

गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट ड्रोन क्यामेरा गायब भएको छ । गाउँपालिकाले केही बर्षअघि तीनलाख रुपैयाँ खर्चेर खरिद गरेको ड्रोन क्यामेरा गत भदौ २३ गतेदेखि हराएको हो ।

क्यामेरा हराएको दुई सातापछि मात्र गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी हराएको बारे जानकारी गराएको छ ।
गाउँपालिकाले योजना तथा कार्यक्रमको फोटो, भिडियो खिच्ने, घाटमा अवैध उत्खनन भए नभएको अवलोकन गर्ने लगायतका उद्देश्यले सो ड्रोन क्यामेरा खरिद गरेको थियो ।

गाउँपालिकालाई ड्रोन क्यामेरा जरुरी छ कि छैन भन्ने बिषय अर्को बहशको विषय हुनसक्छ । आवश्यक त गाउँपालिकामा यावत कुराको छ । तर आवश्यकता र जरुरी भन्ने अलग अलग कुरा हो । तर लाखौं खर्च गरेर किनेको ड्रोन कार्यकक्षबाटै हराउनु लाजमर्दो कुरो हो, प्रमुख प्रशासकीय अधिकृत र सिंगो गाउँपालिका कार्यालयको कमजोरी हो ।

सरकारी ढुकुटी खर्च गरेर किनेको ड्रोनको कसलाई गहिरो माया हुन्छ र ? यदि त्यही ड्रोन व्यक्तिको हुँदो हो त त्यसको जतन नै अर्कै हुन्थ्यो । जे होस् अब हराइसकेको छ । त्यसको खोजी गर्नु अनिबार्य छ । त्यसलाई फेला पारेर अब नहराउने गरी जतनसाथ राख्नुपर्छ, जतनसाथ प्रयोग गर्नुपर्छ ।

सार्वजनिक सम्पतिको संरक्षण गर्ने जिम्मा सबैको हो । यदि कसैले लापार्बाहीपूर्वक झिकेर लगेको, फिर्ता नगरेको वा फेला पारेको वा कसैले चोरेको छ कि ? यसबारेमा कसैलाई जानकारी छ कि ? भएमा गाउँपालिकामा सम्पर्क गरी सहयोग गर्नुपर्छ ।
गाउँपालिकाले पनि सार्वजनिक सम्पत्तिको जिम्मेवार भएर संरक्षण गर्नुपर्छ । आफ्नो निजी होइन भन्नै नर्मम भएर वास्ता नगर्ने हो भने फेला नपर्न सक्छ । त्यसलाई कटिवद्ध भएर खोजी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्