| सोमवार, कार्तिक २३, २०८३

आधारभूत अस्पतालले चाँडै पूर्णता पाओस्

नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा पाँच देखि पन्ध्र शैयाको आधारभूत अस्पताल निर्माण गर्ने योजना ल्यायो, जुन कतिपय पालिकामा कार्यान्वयन भइसक्यो भने कतै कार्यान्वयनको चरण छ । जिल्लाका केही पालिकाहरुमा पनि आधारभूत अस्पताल संचालनमा आइसकेका छन् ।

केही पालिकामा अस्पताल निर्माण कार्य जारी छ । गण्डकी र चुमनुव्रीमा भने निर्माण कार्य हालसम्म सुरु हुन नसक्नु दुखद हो ।समयसँगै स्वास्थ्य सेवामा सुधार हुदैँ गएको पक्कै छ । सेवा सरल र सहज बन्दै गएको पनि छ । तर जति हुनुपर्ने त्यो देखिदैन । बजारका भू–भागको कुरा भन्दा ग्रामिण भेगलाई नियाल्ने हो भने स्वास्थ्य सेवाको पहुँच अझै पनि कठिन नै देखिन्छ । अझ भौगोलिक हिसावले ठगिएको उत्तरी गोरखाको त अलग कुरा ।

सामान्य सिटामोल पाउन पनि मुश्किल हुने अवस्था भोगेका नागरिकलाई आधारभूत अस्पताल स्वास्थ्य क्षेत्रमा एक नयाँ आयाम हो । त्यसैले अस्पताल निर्माण र संचालनमा ढिलाइ हुनु हुदैन । हुन त अस्पताल संचालन गर्न संरचना र उपकरणमात्र पर्याप्त छैन, जनशक्तिको पनि उत्तिकै खाँचो हुन्छ ।

जनशक्ति व्यवस्थापनमा पनि पालिकाहरुले कन्ज्यूँस्याई गर्नु हुदैन । अस्पताल निर्माणलाई तिव्रता दिएर छिटो भन्दा छिटो आधारभूत अस्पताल संचालन गर्न सके स्थानीयले सहज र सरल रुपमा स्वास्थ्य सेवा उपभोग गर्न पाउने छन् । सामान्य उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने, हेलिकप्टरसम्म चार्टर गर्नुपर्ने बाध्यता अब पक्कै हट्ने छ ।

प्रतिक्रिया दिनुहोस्