| सोमवार, कार्तिक २३, २०८३

घरभरि अपांग सन्तान हुँदाका दुख

घरमा एक सन्तान फरक क्षमताको(अपांग) भयो भने अभिभावकलाई धेरै चिन्ता हुन्छ । स्वयं अपांग व्यक्तिलाई चिन्ता हुनु त झन स्वभाविकै भइहाल्यो । तर एउटा घरमा तीन सन्तान उठ्न बस्न नसक्ने प्रकृतिको अपांग भयो भने के हुन्छ ? अभिभावकलाई कति चिन्ता, कति दुख, समस्या हुन्छ ?
अथाह ।

यस्तै दुख कष्टमा बाँचेकी छिन् सहिद लखन गाउँपालिका ७ मकैपुरकी पोस्टकुमारी । उनका दुई छोरी र एक छोरा उठ्न बस्न नसक्ने प्रकृतिका अपांग छन् । २४ सै घण्टा सुतिरहने हलचल गर्न नसक्ने उनीहरुलाई खुवाउने, पियाउने, सरसफाइ गराउनेदेखि ज्यान मिचिदिने जस्ता काममा उनी तल्लीन हुन्छिन् ।

करिब ३८ बर्षकी जेठी छोरी लीला ओछ्यानबाट उठ्नै नसक्ने अबस्थाकी छिन् । माहिली छोरी शिला सुतेको ठाउँबाट उठ्न, बस्न मात्र सक्छिन् । कान्छो छोरो(एकमात्र छोरो) सुताइदिएको ठाउँबाट कोल्टो पनि फेर्न नसक्ने खालको अपांग छन् । उनीहरुलाई मिहिन ढंगले स्याहार सुसार गर्नुपर्ने हुन्छ ।

घरको साविकको काम यसै छँदैछ, थप तीन सन्तानको स्याहारसम्भार गर्नुपर्ने छ । बेलाबेला दिसा पिसाब गराउनु पर्ने, दिसा पिसाब सोहोर्नुपर्ने, उनीहरु सुत्दासुत्दै ज्यान दुख्यो भने रुन्छन्, कराउँछन् । मसाज गर्नुपर्ने हुन्छ ।

घरमा धेरथोर गाईभैँसी, कुखुरा, बाख्रा छँदैछ । धेरथोर खेतबारी छँदैछ । यी तमाम काम गर्दा गर्दै पोस्टकुमारी हैरान छिन् । श्रीमान धनबहादुर साथमा छन् । धेरथोर सघाउँछन् तर घर व्यवबाहरको भित्रि, बाहिरि सबै काममा पोस्टकुमारी नै खट्नु पर्ने हुन्छ ।

दुख त सबैलाई हुन्छ भनिन्छ । तर यो खालको दुख चानेचुने होइन । यसले उनलाई शारीरिक रुपमा पनि र मानसिक रुपमा पनि निकै कष्ट दिइरहेको छ । शारीरिक, मानसिक दुखमै जिन्दगी गुजारी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्