
सबैलाई समेटेर अघि बढ्नुपर्ने संयुक्त राजनीतिक दलित संघर्ष समिति गोरखाको आग्रह
राजनीतिक दलसंग संवद्ध रहेका युवा पुस्ता, दलितलगायत उत्पीडित वर्ग र समुदायलाई समेटेर अगाडि बढ्न संयुक्त राजनीतिक दलित संघर्ष समिति गोरखाले अपिल गरेको छ । हाल देशमा सिर्जित विषम परिस्थितिमा संविधान र लोकतान्त्रिक मूल्य मान्यताभित्रबाटै निकास खोज्न समितिले अपिल गरेको हो ।
जेन–जी युवाहरुले सुरु गरेको आन्दोलनकापछिको तोडफोड, लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने समितिको माग छ । ‘जेन–जीले सामाजिक सञ्जालको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध भदौ २३ गते सुरु गरेको आन्दोलनको पहिलो दिनमै सरकारबाट गरिएको चरम दमनबाट उत्पन्न परिस्थितिले आन्दोलनको दोस्रो दिन भदौ २४ गते मुलुकमा केही स्वार्थ समूहबाट महत्वपूर्ण सरकारी संरचना, राजनीतिक दलका कार्यालय, निजि आवास, बैँक तथा व्यवसायिक भवनहरुमा भएका तोडफोड, लूटपाट, आगजनी तथा राजनीतिक व्यक्तित्वहरुमाथि भएको भौतिक आक्रमणको घोर भत्र्सना गर्दछौँ’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको समितिले बताएको छ । नेपाली जनताले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको उपलब्धिहरुलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई आम दलित समुदायले स्वीकार गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ । पुस्तौदेखि जातीय विभेदको मारमा परी बहिष्करणमा पारिदै आएका दलित समुखायको मुद्दा हालसम्मका परिवर्तनले सम्बोधन गर्न प्राथमिकतामा नराखेको कुरा नदोहोरियोस् भन्नेतर्फ समितिले सचेत गराउन चाहेको बताइएको छ ।




