| सोमवार, कार्तिक २३, २०८३

यथासीघ्र राजनीतिक निकासको खाँचो

इतिहासदेखि वर्तमानसम्म नेपाली राजनीतिक घटनाक्रमको अध्ययन गर्दा धेरै उतारचढाव आएको पाइन्छ । धेरै असजिलो मोड पार गरी नेपालको राजनीति यहाँसम्म आइपुगेको हो । नेपाली राजनीतिले २००७, २०१७, २०४७, २०६३ हुदै आजसम्म आइपुग्दा सुखद, सन्तोषप्रद कहिल्यै भएन ।

यो अबस्थासम्म आइपुग्दा मुलुकमा कुशासन, भ्रष्टाचार, बेथितिले सीमा नाघिसकेको थियो । यो अबस्थाको अन्त्य गर्नुपर्छ भनेर नयाँ युवापुस्ताले सँधै वैकल्पिक उपाय खोजिरहेको अबस्था थियो । देशभित्र र बाहिर रहेका युवाहरु यस विषयमा चिन्तनरत थिए ।

मुलुकको बेथितिलाई अन्त्य गर्दै सुव्यवस्थाको सुनिश्चितताका लागि ध्यानाकर्षण गर्न भदौ २३ गते जेनजीको विरोध प्रदर्शन कार्यक्रम आयोजना भयो । आन्दोलन त यसअघि पनि विभिन्न संघ, संस्थाहरुले पनि गर्दै आएका थिए । संगठित समूहले गरेको प्रदर्शन, विद्रोह, आन्दोलन नियन्त्रण गर्न राज्यपक्षलाई सहज हुन्थ्यो तर यो थियो असंगठित समूहको प्रदर्शन ।

त्यसैले यो विद्रोह भड्कियो भने नियन्त्रण गर्न हम्मे पर्ने, जिम्मेवारी लिने औपचारिक निकाय नहुने हुनाले यो अल्लि संवेदनशील आन्दोलन थियो तर राज्य पक्षले यसप्रति नजरअन्दाज ग¥यो । प्रदर्शनलाई निर्मम दमनको उपाय अपनायो । फलस्वरुप २३ गते ठूलो संख्यामा मानवीय क्षति भयो ।

त्यसको प्रतिशोधस्वरुप भोलिपल्टको आन्दोलन झन् निर्मम बन्यो । राज्यका अति महत्वपूर्ण सार्वजनिक सम्पत्तिमाथि आगजनी भयो । ५० औं खर्ब बराबरका भौतिक संरचना, अभिलेख ध्वस्त भए । ऐतिहासिक, पुरातात्यिक, सबै हिसाबले महत्वपूर्ण सम्पदा तहसनहस भए । त्यसदिन पनि मानवीय क्षति भयो । अहिलेसम्मको तथ्यांकअनुसार आन्दोलनरत पक्ष र राज्य पक्ष गरी ३४ जनाको जीवन समाप्त भयो ।

त्यतिमात्र भएन, मुलुकमा राजनीतिक संकट पैदा भयो । सरकारबिहिनताको अबस्था सिर्जना भयो । संविधान, संसद सक्रिय हुन सकेन । शान्ति सुरक्षाको सम्पूर्ण जिम्म सेनाको हातमा रह्यो । सरकार गठनमा सहजिकरणको कार्य पनि सेनाले गर्ने प्रयास गरिरहेको अबस्था छ ।

यो राजनीतिक संकटको अबस्थालाई निकास दिन विद्यमान संविधान, विद्यमान लोकतान्त्रिक पद्धति अनुरुप जेनजीको माग पूरा गर्न सक्ने सरकार गठन गरी अघि बढ्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्