
उत्तरी गोरखाको स्याउ ढुवानीमा अनुदान देऊ
उत्तरी गोरखाको चुमनुब्री र धार्चेका विभिन्न गाउँहरुमा व्यवसायिक स्याउ खेती गरिएको छ । चुमनुब्रीको २७००, २८०० मिटर उचाइमा र धार्चेको करिब २००० मिटर उचाइमा स्याउ खेती गरिएको छ । विशेषगरी चुमनुब्रीको ल्हो, नाम्रुङ, आँङसस्र्यूँमा स्याउ खेती गरिएको छ । धार्चेको उहिया क्षेत्रमा पनि स्याउ खेती गरिएको छ ।
यी दुवै ठाउँ भौगोलिक हिसाबले बिकट छन् । यहाँसम्म सवारी साधन पुग्न सकेका छैनन् । खच्चडलाई बोकाएर स्याउ बजार झार्दा स्याउ बिग्रिने हुन्छ । किसानको स्याउ खेरा जाने हुन्छ । हेलिकोप्टरमा ढुवानी गर्दा अत्यन्त महंगो पर्न जान्छ । महंगो स्याउले जुम्ला र मुस्ताङको स्याउसंग प्रतिस्पर्धा गर्न सक्दैन । जसले गर्दा बिक्री हुदैन ।
त्यसैले यसलाई ढुवानी गर्न स्थानीय सरकारले सहयोग गरिदिनु पर्दछ । व्यक्तिको नीजि व्यवसायलाई सरकारले सहयोग गर्नु स्वभाविक नदेखिन सक्छ । तर अहिले सरकारले व्यवसायिक खेतीलाई अनुदान लगायतका सहयोग गर्ने अभ्यास गरेको हुनाले यी स्याउ व्यवसायीको उत्पादन ढुवानी गरेर बजार पु¥याउन मद्दत गर्नु मनासिब देखिन्छ ।
अहिले ती फर्मसम्म सडक पुगेको छैन । केहीबर्षभित्र सडक पुग्न सक्छ । त्यसपछि ढुवानीमा दिएको अनुदान कटौती गर्न सकिन्छ । तर अहिलेको अवस्थामा किसानलाई प्रोत्साहित गर्न स्याउ ढुवानीमा अनुदान दिनु आवश्यक हुन्छ । यसले गर्दा नयाँ स्याउ किसानलाई उत्साह हुन्छ । व्यवसाय गर्ने रहर बोकेकालाई पनि सो क्षेत्रमा लाग्न प्रोत्साहन मिल्छ ।
अहिले व्यवसाय नगर्ने तर कागजपत्र मिलाएकै भरमा अनुदान लिएका कैयौँ उदाहरण छन्, तर खास व्यवसाय गर्नेहरु पछाडि परिरहेको अबस्था छ । यो अबस्थामा बास्तविक स्याउ खेती गर्ने किसानलाई ढुवानी अनुदान दिनु मनासिब देखिन्छ ।




