
अब बनोस् सिरानचोकको प्रशासकीय भवन
लामो अन्यौलता चिर्दै सिरानचोक गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद टुंगिएको छ । छोप्राकमा रहने कि चित्रेपोखरीमा रहने भन्ने विवाद पाँचबर्षसम्म लम्बिँदा सबै पालिकाको प्रशासकीय भवन बनिसक्दा पनि यहाँको प्रशासकीय भवन बन्न सकेको थिएन । गत आइतबार मात्र सर्वोच्च अदालतले चित्रेपोखरीमै केन्द्र रहने फैसला गरेपछि अब विवाद किनारा लागेको हो ।
विवाद किनारा लागेपछि अब मन्त्री परिषद बैठकले केन्द्र चित्रेपोखरीमै रहने भन्ने बारे राजपत्रमा प्रकाशित गर्नुपर्ने छ । त्यसपछि हाल अस्थायी रुपमा पालिकाको कार्यालय सञ्चालन भइरहेको ठाउँ वडा नम्बर ५ चित्रेपोखरीमा प्रशासकीय भवन बन्नेछ ।
यसअघि सिरानचोक गाउँपालिकाको वडा नं ५ छोप्राक मैदानमा प्रशासकीय भवन रहेको थियो ।
त्यतिबेला २०७७ असार ३१ गते कार्यपालिकाको दुई तिहाईको निर्णयले केन्द्र सोही वडाको चित्रेपोखरीमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सो विषयमा असहमति जनाउँदै मुद्दा परेपछि सर्वोच्च अदालते कार्यपालिकाको निर्णय तत्कालका लागि निर्णय नगर्न २०७७ असोज २७ गते अन्तरिम आदेश दिएको थियो ।
तर हाल गत आइतबार सर्वोच्च अदालतले २०८२ साल भदौ १५ गते (आइतबार) उक्त रिट खारेज गरिदिएको छ । अब गाउँपालिका केन्द्रको विषयमा कुनै अन्यौलता हटेको छ । हाल वडा नं. ५ चित्रेपोखरीमा रहेको विस्तारित सेवा कार्यालयबाट नै सेवा प्रवाह भइरहेको छ ।
केन्द्रको अन्यौलताले धेरै कुरामा प्रभाव पारेको थियो । अब चित्रेपोखरी नै केन्द्र रहने निश्चित भएपछि पहिलो काम प्रशासकीय भवन निर्माणको हुनेछ । त्यसपछि अन्य शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा भेटरीनरीलगायतका शाखाहरु कहाँ रहने भन्ने निश्चित हुनेछ । केन्द्र निश्चित नभएका कारण रोकिएका अन्य तमाम कामहरु पनि अब अघि बढ्ने छ ।




