| सोमवार, कार्तिक २३, २०८३

बारपाकका अकबरे खुर्सानीका किसानलाई प्रोत्साहन गर

बारपाकमा बिगत लामो समयदेखि अकबरे खुर्सानी खेती गरेका किसान यसबर्ष निराश छन् । रोग किराले खुर्सानीमा क्षति पु¥याएपछि उनीहरु चिन्तित र निराश भएका हुन् ।

उच्च पहाडी भूभागमा पर्ने बारपाकको ठूलो क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्दै आएका थिए । करिब २० किसानले एकल तथा सामुहिक रुपमा करिब पाँचसय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् । तर यसबर्ष फ्रुट्स प्लाई र फङ्गस रोग किराले खेती नष्ट पारेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ थैली तथा अन्य विभिन्न ठाउँमा लगाइएको व्यवसायिक अकबरे खुर्सानी खेती बिगत एक महिनादेखि रोग किराले नष्ट पारेको हो ।

हालसम्म त्यहाँ लगाइएका अकबरे खुर्सानी २५ प्रतिशतभन्दा धेरै नष्ट गरेको उनले बताए । रोग लागेपछि तत्काल कृषि प्राविधिकसंग परामर्श गरेको भए यति धेरै क्षति हुने थिएन । ढिला गरी कृषि कार्यालयमा खबर गरे । त्यसैले समस्या समाधान गर्न गाह्रो भइरहेको हो ।

दिनानुदिन समस्या बढ्दै गएपछि बल्ल किसानहरुले कृषि विज्ञहरुलाई गुहारेका थिए । किसानको अनुरोधमा कृषि ज्ञानकेन्द्र गोरखा र गाउँपालिकाको कृषि शाखाका कर्मचारीहरुल स्थलगत अध्ययन गरेका थिए । साथै विषादी पनि छर्केका थिए । अबको एक हप्तामा उपचारको परिणाम देखिने किसानको आशा अपेक्षा छ । एकहप्तापछि फेरि अनुगमन गरी थप उपचार गर्ने योजना छ ।

किसानहरु यतिबेला चिन्तित छन् । उनीहरुलाई हतोत्साही नगराउन अथवा व्यवसायिक खेतीमा उत्साहित गर्न उर्जा बढाउन आवश्यक छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र तथा पालिकाको कृषि शाखाले राहतका प्याकेजसमेत ल्याउन आवश्यक छ । व्यवसायमा नलागेकालाई व्यवसायमा लगाउने र व्यवसाय सुरु गरेकालाई निराश नगराई व्यवसाय निरन्तर गर्न प्रेरणा, औसला दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्