
स्याम्राङबासीको पीडालाई नजरअन्दाज नगर
केही दिनदेखि परेको अविरल बर्षाले आरुघाट गाउँपालिका ३ स्याम्राङका २५ घरधुरी जोखिममा परेका छन् । गाउँभन्दा माथिबाट झरेको पहिरो सिरानटोलभन्दा करिब १५० मिटर नजिक आएर बसेको छ । अब फेरि त्यसैगरी बर्षा भयो भने सो पहिरोले गाउँ सिनित्तै बगाएर लैजाने भन्दै स्थानीयबासी चिन्तित छन् ।
भदौ २ गते गाउँमाथि पहिरो झरेपछि सिरानटोलका २५ घरधुरीका बासिन्दाहरु निर्धक्कले सुत्न सकेका छैनन् । गाउँलेले पाँच–पाँच जना युवाहरुको दुई समूह बनाएका छन् । एउटा समूह गाउँको पहरा दिएर बस्छन् । अरु सुत्छन् । फेरि आधा रातपछि अर्को पाँचजनाको समूह पहरा बस्छन् । बाँकी सबै सुत्छन् । यसरी युवाहरुले गाउँको पहरा दिएको एक साता बितिसक्यो ।
गाउँलेहरु सबैसंग त्रिपाल भएको भए यो बर्खाभरि सुरक्षित स्थलमा त्रिपालमुनि ढुक्कले सुत्ने थिए । तर त्रिपालसमेत नभएको उनीहरु गुनासो गर्छन् । पहिरोको अनुगमन गर्न आएका जनप्रतिनिधिको टोली र सुरक्षाकर्मीको टोलीले सुरक्षितपूर्वक, सचेत, सजग भएर बस्न निर्देशन दिएर गए । तर कहाँ सुरक्षित भएर बस्ने, कसरी सुरक्षित हुने भन्ने उपाय सिकाएनन्, न सुरक्षाका सामग्री नै दिएर गए । आहारा खाने चरी आशिर्वादले बाँच्दैन ।
जिल्लामा विपद व्यवस्थापन समिति छ । पालिकामा पनि विपद व्यवस्थापन कोष छ । दुवै निकायसंग विपद व्यवस्थापनका सामग्रीहरु पक्कै छन्, तर दुखमा परेका स्याम्राङबासीको पीडालाई नजरअन्दाज गरिएको छ । समस्या सुगमका बासिन्दाको मात्र होइन, दुर्गमका बासिन्दाको पनि उत्तिकै पीडादायी हुन्छ । सुगममा सानातिना समस्या भए पनि सबै निकायले हत्तपत्त समाधानको प्रयास गरिहाल्छन्, तर त्यति नै परिमाणको समस्या दुर्गममा पर्दा टार्ने चेष्टा गरिरहन्छन्, जुन राम्रो होइन ।




