
लिजामा आफूलाई अब्बल बनाउन प्रयत्नरत होऊ
गत आर्थिक बर्षको स्थानीयतह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गोरखाका दुई पालिकाले प्रदेशमै प्रतिष्ठा कायम गरे । पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिकाले समान ८७.७५ प्रतिशत सर्वोत्कृष्ट अंक प्राप्त गरी गोरखा प्रथम तथा गण्डकी प्रदेशको तेस्रो हुन सफल भए ।
लिजाले पालिकाहरुलाई प्रतिस्पर्धात्मक रुपमा काम गरेर उत्कृष्ट बन्ने वातावरण बनाउँछ । नेपालका स्थानीय सरकारहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन गर्ने एउटा महत्वपूर्ण प्रक्रिया हो । यो प्रक्रियाले स्थानीय तहहरूले आफ्ना काम–कारबाही, योजना तथा सेवा प्रवाहलाई आफैं मूल्यांकन गर्न र त्यसलाई सुधार्न मद्दत गर्छ ।
स्थानीय सरकारले आफ्नो सबल पक्ष र सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गरी सोहीअनुरूप कार्य गर्न सकुन् भनेर वातावरण बनाउन यो प्रणालीको विकास भएको हो । यो मूल्यांकन प्रक्रियाले स्थानीय तहका काम कारबाहीलाई थप पारदर्शी र जवाफदेही बनाउन प्रोत्साहन गर्छ ।
यसले स्थानीय सरकारको कार्यसम्पादनलाई एउटै राष्ट्रिय मापदण्डमा ल्याउन मद्दत गर्छ, जसले गर्दा सबै स्थानीय तह बीच तुलना गर्न सकिन्छ । साथै यसले स्थानीय तहलाई नतिजामुखी काम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रेरित गर्छ ।
लिजामा योजना तथा बजेट व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहको लेखाजोखा गरिन्छ । त्यस्तै वित्तीय अनुशासन र सुशासन, न्यायिक कार्य सम्पादन आदिको मूल्यांकन हुन्छ ।
त्यस्तै कानुन र संस्थागत विकास, स्थानीय तहहरूले यी सूचकहरूको आधारमा आफ्नो मूल्यांकन गरी त्यसको नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँछन् । यसरी प्राप्त नतिजालाई सरकारले नीति निर्माण र आवश्यक सहयोग प्रदान गर्नका लागि प्रयोग गर्छ । यसले पालिकाहरुलाई निश्चित गन्तव्य निर्धारण गरी सही मार्ग निर्देशन गर्ने गर्छ । लिजामा आफूलाई अघि बढाउन सबै पालिकाहरु उद्यत होउन् । आगामि मूल्यांकनमा आफूलाई अब्बल पालिका बनाउन सफल होउन् ।




