
रेविजविरुद्धको खोप तत्काल आपूर्ति गर
गोरखा, नेपालको पहाडी भूभागमा रहेको जिल्ला हो । यस जिल्लाको सदरमुकाममा प्रदेशस्तरको एक सरकारी अस्पताल सञ्चालित छ । यो अस्पतालले बिगत केही बर्षदेखि आफ्नो सेवालाई निरन्तर विस्तार गर्दै आएको छ, जसले यहाँका बासिन्दाहरूलाई ठूलो राहत दिएको छ । सानातिना समस्या आए पनि अन्य जिल्लाका अस्पतालमा रिफर भई जानु पर्ने बाध्यता हटेकाले अहिले स्थानीयबासी खुशी छन् ।
तर दुःखको कुरा, हाल यो विकासशील अस्पतालमा रेबिजको खोप (एन्टिरेबिज भ्याक्सिन) को गम्भीर अभाव देखिएको छ । यो अभावले स्थानीय समुदायमा चिन्ता बढाएको छ, विशेष गरी गाउँघरमा जहाँ कुकुरको टोकाइ जटिल समस्या ठानिन्छ ।
रेबिज एक प्राणघातक रोग हो । समयमै खोप लगाइएन भने यो रोगबाट ज्यान जाने सम्भावना अधिक हुन्छ । खोपको अभावले गर्दा, रेबिज संक्रमित कुकुरले टोकेका बिरामीहरू अन्य जिल्लाका अस्पताल जान बाध्य छन् ।
आर्थिक दृष्टिकोणले विपन्न ग्रामीण भेगका बासिन्दा अन्यत्र जानुपर्दा आर्थिक र शारीरिक दुवै हिसाबले कष्टकर छ । साथै गाउँका गरीब तथा विपन्न वर्गका मानिसहरूलाई मर्माहत बनाएको छ । गोरखा अस्पताल नै स्वास्थ्य सेवाको भरपर्दो केन्द्र ठानेर बसेका सर्वसाधारणमा रेबिज खोपको अभावले ठूलो जोखिम बढाएको छ ।
अतः, सम्बन्धित सरकारी निकाय, स्वास्थ्य मन्त्रालय र गोरखा अस्पताल प्रशासनलाई यस विषयमा तत्काल ध्यान दिन र रेबिजको खोपको चाँडोभन्दा चाँडो आपूर्ति सुनिश्चित गर्न आग्रह छ । जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर यो गम्भीर समस्याको समाधान गर्न ढिलाइ गर्नु हुँदैन । नागरिकको जीवन रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो त्यसैले रेविजविरुद्धको खोपको अभावको अवस्था धेरै लामो नलम्बियोस् ।




