| सोमवार, कार्तिक २३, २०८३

हिउँद लागेको खुशियालीमा भद्रा मारेर उत्सव मनाउँदै लाप्राकी

बर्खा सकिएर हिउँद लागेको खुशीयालीमा धार्चे ४ लाप्राकका बासिन्दाले हरेक बर्षजस्तै यसबर्ष पनि भदौ १ गते भद्रा मारेर खुशीयाली मनाएका छन् । आइतबार ठूलो आँगनमा भेलाभई सातसय घर लाप्राकीले काँक्रोलाई भद्राको स्वरुप बनाई बली चढाएर राम रमिता गरेका हुन् ।

‘भदौ लागेपछि अब बर्खा सकियो, हिउँद लाग्यो भनेर गाउँमा खुशीयाली मनाउने चलन छ’, तमु प्ले ल्हु संघ लाप्राकका अध्यक्ष विसबहादुर गुरुङले भने, ‘काँक्रोलाई सिङ, पुच्छर, खुट्टा हालेर राक्षसको स्वरुप बनाउँछौँ । अनि त्यसलाई खुकुरीले मार हानेर बाली चढाउँछौँ । अनि भद्राको प्रसाद भनेर गाउँले सबै बाँढेर खान्छौँ ।’ साथै लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको सम्झनामा पूजाआजा गर्ने पनि उनले बताए । यस दिनमा करिब आठसय बर्ष अघि लाप्राक गाउँ स्थापना गरेका खम्बो र पैसापलाई घरघरमा पनि पूजा गर्ने उनले बताए ।

यो परम्परा लाप्राक गाउँ स्थापना भएदेखि चलिआएको हो भन्ने जनविश्वास छ । लाप्राकको चर्चित मकै विवाह, घाँटु पनि यही भद्रा मारेपछि मात्र मनाउने चलन रहेको घाँटु समितिका अध्यक्ष समेत रहेका बिसबहादुर गुरुङले बताए । ‘बर्खाका बेला जजस्ता दुख भए पनि अब हिउँद सुखद होस् भनेर यो पर्व मनाउने चलन छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्