
जोश, जाँगर, हिम्मत भए असम्भव केही छैन
जीवन कसरी चलाउने भन्ने हरेकको आफ्नै हातमा हुन्छ । कोही व्यक्ति कुनैपनि काम गर्ने हिम्मत गर्दैनन् अनि विभिन्न बहानाबाजी गर्छन् । उनीहरु यो वा त्यो बहाना बनाई काम गर्दैनन् । कोही व्यक्तिहरु हिम्मत गर्छन्, जोश, जाँगर निकालेर काम गर्छन् अनि सफल हुन्छन् ।
जिन्दगी त आखिर दुवै किसिमका व्यक्तिहरुको चलिरहन्छ । काम गर्ने काम गरेको ग¥यै, काम नगर्नेहरु नगरेको नग¥यै । चल्न त जसरी पनि चलिहाल्छ । हाम्रो समाजमा विशेष गरी अपांगहरु काम गर्न सक्दैनन् भन्ने सोच छ । आजभोलि उनीहरु अपांग होइनन्, फरक क्षमता भएका व्यक्ति हुन् भन्ने गरिएको छ । उनीहरुमा आँखा देख्न सक्ने क्षमता नहोला, तर सुन्ने क्षमता वा सोच्ने क्षमता दोब्बर हुनसक्छ । अथवा एउटा क्षेत्रमा घटेको क्षमता अर्को क्षेत्रमा बढेको हुनसक्छ ।
अपांग व्यक्ति भनेर अब घृणा होइन, माया गर्नुपर्छ तर दया होइन । अब त दया र मायाको साँटो उसमा साहस, उत्प्रेरणा, हौसला भरिदिनुपर्छ । दयाको पात्र बनाउने होइन, काम(श्रम, सीप प्रयोग) गरेर जीवन सफल बनाउने वातावरण बनाइदिनु पर्छ । भनिन्छ, कसैलाई माछा मारेर दिनुभन्दा माछा मार्ने सीप सिकाइदिनुचाहिँ हितकर ठहर्छ ।
यसको एउटा उदाहरण हुन्, गोरखा बारपाक सुलिकोटकी सरिता लामिछाने । उनी स्वयं दृष्टिविहिन महिला हुन् । उनले संघर्ष गरेर आफूमात्र माथि उठिनन्, आफूजस्ता हजारौं दृष्टिविहिनलाई उपयोगी सफ्टवेयर बनाउने काम गरेर निकै ठूलो योगदान गरिन् । साथै आफूजस्ता धेरै दृष्टिविहिनहरुलाई रोजगार बनाउने महान काम गरिन् । यसले उनको छवि धेरै उच्च बनाएको छ । उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तित्वका रुपमा स्थापित गराएको छ ।




