| सोमवार, कार्तिक २३, २०८३

१२२५ गर्भवती खोई ?

गत आर्थिक बर्ष गोरखामा २६७६ जना गर्भवती भए । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा संपर्कमा गएका गर्भवतीको संख्या हो यो । तर एकहजार ४५१ जना मात्र सुत्केरीको नाम नामेसी जनस्वास्थ्य कार्यालयमा दर्ता भयो । बाँकी एकहजार २२५ जना गर्भवती खोई ?

कोही सुत्केरी गराउन चितवन गए, कोही काठमाडौँ भन्ने उत्तर आउनु स्वभाविक छ । त्यसको संख्या केही घटाउने हो भने पनि बाँकी संख्या धेरै नै रहन्छ । अहिले सरकारले हरेक गर्भवतीले नियमित गर्भ परीक्षण गर्नुपर्ने र स्वास्थ्य संस्थामा मात्र सुत्केरी गराउनु पर्ने अभियान सञ्चालन गरेको छ ।

घरमा सुत्केरी गराउने परम्परालाई निरुत्साहित गर्न र नियमित गर्भ परीक्षण तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई यातायात खर्च, पोषिलो खानेकुरा आदि दिने कार्यक्रम सञ्चालन गरिरहेको छ । संघ सरकारको यो कार्यक्रमलाई प्रदेश सरकारले पनि, स्थानीय सरकारले पनि विभिन्न रुपमा सञ्चालन गरिरहेको छ ।

नियमित गर्भ परीक्षण गराउने, आमा र बच्चाको स्वास्थ्य स्थिति परीक्षण गर्ने, उपचारात्मक तथा निरोधात्मक विधिबाट स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ । यसो गर्दा आमाको स्वास्थ्य पनि सुदृढ हुने, पेटको बच्चाको स्वास्थ्य पनि सुदृढ हुने विश्वास गरिन्छ ।
यसरी सुत्केरी गराउँदा प्राकृतिक रुपमा जन्मन मद्दत पुग्ने र यदि शल्यक्रियाबाट जन्माउनु परेमा तत्काल सेवा पाइने हुँदा जोखिम न्यूनिकरण हुने विश्वास गरिन्छ ।

तर पछिल्लो चरणमा गर्भवती भएकाजति महिला सुत्केरी नभएको तथ्यांकले सबैलाई झस्काएको छ । कहीँ गर्भपतन गराउनेको संख्या अत्याधिक त छैन ? गर्भको शिशुको लिंग पहिचान गरी केही समयपछि गर्भ पतन गराउनेको संख्या बढ्दै गएको आशंका भइरहेका बेला देखिएको यो तथ्यांकले आशंका सत्य सावित गर्न मद्दत गरेको छ । यसबारेमा सरोकारवालाहरु सबैले गम्भीर भएर सोच्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्