
बर्षात मच्चिन थालेको छ, सावधानी रहौँ
मौसमविदले यस बर्ष बिगतभन्दा ३० प्रतिशत बढ्दा पानी पर्ने अनुमान गरेका थिए । तर असार यसै खडेरीमै बित्यो । अन्नको भण्डार भनेर चिनिने तराई मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारले राहतको कार्यक्रम लागु गर्नुपर्ने अबस्था सिर्जना भयो ।
अहिले साउनको अन्तिम साता सुरु हुँदै गर्दा बर्षात मच्चिन थालेको छ । यदि मौसमविदले भनेको सही, सत्य हुने हो भने अब अधिक बर्षात हुनसक्छ । नेपाल पहाडी र हिमाली भेग अधिक भएको मुलुक हो । पहाड र हिमाली भेग भौगोलिक रूपमा जति सुन्दर छ, त्यति नै विपदको जोखिममा पनि छ । भूकम्पका दृष्टिले उत्तिकै जोखिम, बाढी, पहिरोका दृष्टिले उस्तै । तराई पनि डुबानका दृष्टिले उच्च जोखिममा छ ।
यी र यस्तो तमाम विपदहरूले बेलाबेलामा ठूलो जनधनको क्षति पु¥याउँदै आएका छन् । त्यसैले बिगतबाट पाठ सिकेर विपद आइसकेपछि मात्र उद्धार र राहतका कार्यहरूमा जुट्नुभन्दा विपद आउनुअघि नै गरिने पूर्वतयारी गर्नु पर्दछ । विपद व्यवस्थापनको पूर्वतयारीका लागि सरकारले लाखौं, करोडौ खर्च गरिरहेको छ । जिल्ला तहमा, पालिका तहमा पनि विभिन्न खालका कार्यक्रमहरु भए गरेका छन् यद्यपि बर्सेनी विपदले धेरै धनजनको क्षति गरिरहेको पाइन्छ ।
विपद व्यवस्थापन र पूर्वतयारी कुनै एक निकायको मात्र नभएर सरकारका सबै तह, स्थानीय समुदाय, सरोकारवालाहरू र नागरिकहरूको सामूहिक जिम्मेवारी हो । यसको पहिलो खुड्किलो भनेको जोखिम पहिचान गर्नु हो । कुन क्षेत्रमा कस्तो विपदको जोखिम छ भन्ने कुराको वैज्ञानिक अध्ययन र तथ्याङ्क सङ्कलन गरेर मात्र प्रभावकारी योजना बनाउन सकिन्छ । त्यसपछि, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणालीलाई सुदृढ गर्ने र विपदको समयमा प्रयोग हुने पूर्वाधारहरू (जस्तै : आश्रयस्थल, सडक) तयार पार्नुपर्छ ।
यसका साथै, स्थानीयस्तरमा विपद प्रतिकार्य समूहहरूको गठन र तालिम, सामुदायिक विपद कोषको स्थापना, र विपदसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । तीनै तहका सरकार विपद पूर्वतयारीमा संवेदनशील भएर लाख्नुपर्छ ।




