
चुनौति, जोखिम मलेर पनि केही काम गरौँ
अहिले कर्मचारी, कामदारहरु कार्यालय अवधिभरि नियमित काम गर्नेबाहेक ‘प्रो एक्टिभ’ भएर अतिरिक्त काम गर्ने जोश, जाँगर, इच्छाशक्ति अत्यन्त कम भएको पाइन्छ । कर्मचारी, कामदार मात्र होइन, सांसद, मन्त्री, प्रधामन्त्रीसम्म पनि नियमित कामबाहेक ‘केही नयाँ गरौँ’ भन्ने भावनाले काम गरेको पाइन्न ।
नियमित कामको सिलसिलामा पनि कुनै जोखिम उठाउनु पर्ने अबस्था आयो भने त्यसबाट ‘स्किप’ हुने प्रवृत्ति हावी छ । नयाँ काम गर्दा, ठूलो काम गर्न खोज्दा आवश्यक, अनावश्यक चुनौति आइपर्ने हुँदा त्यस झञ्झटबाट बच्न कुनै नयाँ, कुनै ठूलो काम गर्नबाट भाग्ने प्रवृत्तिले घर गरेको हो ।
तर कुनै कार्यालयमा कुनै बेला यस्ता नेतृत्व पनि आएका हुन्छन्, जसले अपेक्षित, अनपेक्षित जोखिमको पर्वाह नगरी केही नयाँ, केही ठूलो काम गरौँ भन्ने भावनाले काम गर्न सरिक हुन्छन् । त्यसको नमूना डिभिजन वन कार्यालय हो । बहालवाला नेतृत्वले बिगतदेखि कार्यालयले बेवास्ता गरी बसेका पुराना काठ तथा दाउरा अहिले लिलाम गरेको छ । साथै लामो समयदेखि ‘डम्प’ भएको गाडी पनि लिलाम गरेको छ ।
यसो गर्दा एक त सडेगलेर जाने बस्तुको उपयोग भयो, अर्को पक्ष राजस्व वृद्धि भयो । तर बिगतमा जस्तै आफ्नो नियमित काम गर्ने, अनि समय पुगेपछि अन्यत्र सरुवा भई जाने मात्र कर्तव्य पूरा गरेको भए यो हुने थिएन । यो धेरै ठूलो काम त होइन, तर नभइरहेको अबस्थामा भने ठूलो काम हो ।
त्यसैले डिभिजन वन कार्यालय गोरखा गत आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ९८ लाख ५१ हजार ९६१ रुपैँया राजश्व संकलन गर्न सफल भएको छ । सबैभन्दा धेरै निजी वनहरुको मुल्य अभिवृद्धि कर अन्तरगत एककरोड चारलाख ९३ हजार ५०१ रुपैँया राजश्व संकलन गरेको छ । वन क्षेत्र रोयल्टी (जडिवुटी संकलन, वेवारिसे, जोखिमयुक्त आयोजना) बापत रु ५७ लाख तीनहजार ५९३ संकलन गरेको छ ।




