
विकास होइन, दीगो विकासमा जोड देऊ
विनास विनाको विकास नै दिगो विकास हो । अथवा वर्तमान पुस्ताले विकास निर्माणको सेवा सुविधा उपभोग गर्दैगर्दा भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दीगो विकास हो । वर्तमान पुस्ताले विकास निर्माणको सेवा सुविधा भोग्दै गर्दा भावी पुस्ता बञ्चित हुन नपरोस् भन्ने अवधारणा अपनाउनु नै दीगो विकास हो ।
दीगो विकासको मर्म र भावना वातावरण संरक्षणसंग सम्बन्धित हुन्छ । दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दिगो विकास सम्पूर्ण जीवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।
फेरि पनि वर्तमानको आवश्यकता र चाहना परिपूर्तिका लागि भविष्यसँग सम्झौता गर्नु हुदैन भन्नेमा जोड दिनुपर्छ ।
प्रसंग दरौंदी बारपाक जलविद्युत आयोजनास्थलबाट घ्याच्चोकसम्म जाने सडक निर्माणको हो । यहाँ आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट(१७ लाख)बाट सडक निर्माण कार्य आरम्भ गरिएको थियो । तर करिब पाँचसय मिटर सडक खन्दा नखन्दै दर्जन बढि रुखहरु ढालिए । वन क्षेत्रमा जताततै पहिरो जाने वातावरण बन्यो ।
त्यसपछि बारपाक सवडिभिजन कार्यालयले सरकारी वन क्षेत्रमा सडक निर्माण कार्य रोक्यो । गत जेठ अन्तिम सातातिर काम रोकेर त्यहाँ लडेका रुखहरुमा टाँचा समेत लगाइसकेको छ । अब कार्यालयले सो कामबाट भएको प्राकृतिक दोहनको क्षतिपूर्ति असुल गर्ने तयारी गरेको छ । अहिले आर्थिक वर्षको अन्तिम भएकाले कामको बोझ भएको छ । त्यसैले छानवीन तथा अध्ययनमा ढिलाइ भइरहेको छ । छिट्टै छानबीन गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।




