| मङ्लबार, कार्तिक २४, २०८३

टेलिमेडिसिन सेवाले निरन्तरता पाओस्

विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा अडियो–भिजुअलको माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलिमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो ।

ग्रामिण क्षेत्रको विशेषगरी गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरी उक्त सेवा सुरु गरिएको हो । धार्चे गाउँपालिकाअन्तरगतका ७ वटा वडाका सात स्वास्थ्य चौकीमा ‘टेलिमेडिसिन सेट’ सञ्चालन गरिएको छ ।
यसले ग्रामीण दूरदराजका बिरामीहरुको स्वास्थ्यमा जटिलता आएमा वा स्वास्थ्य चौकीबाट सेवा सम्भव नभएमा टेलिमेडिसिनको माध्यमबाट सिधै गोरखा बजारस्थित प्रदेश अस्पतालबाट सेवा लिन सकिन्छ ।

धार्चेको स्वास्थ्य संस्थाबाट आएको फोन अस्पतालको नर्सिङ स्टेशनले रिसिभ गर्छ । नर्सिङ स्टाफले समस्या अनुसार विषयगत डाक्टरसँग सम्पर्क गराइदिन्छन् । टेलिमेडिसिनले डाक्टर भेट्नकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउनेछ । यसले धार्चेका गर्भवती, सुत्केरी महिला र नवजात शिशुलाई जोड ठूलो राहत मिल्नेछ ।

तर बिडम्बना भन्नु पर्छ कि, धेरै पालिकाहरुले धेरै कुराहरु सुरुवात गरेका छन् तर त्यसलाई निरन्तरता नदिई फेरि अर्को नयाँ कामको सुरुवात गरेका छन् । जुनसुकै कुरा सुरुवात गर्नु मात्र ठूलो कुरो होइन, त्यसलाई निरन्तरता दिनु त्यो भन्दा ठूलो कुरा हो । वाहावाही पाउनका लागि नयाँ, नौलो, सिर्जनात्मक, रचनात्मक कार्यक्रमहरु थालनी गर्ने अनि त्यसलाई बीचैमा छाडेर फेरि अर्को नयाँ काम थालनी गर्ने प्रचलन छ ।

त्यति मात्र होइन, एउटा जनप्रतिनिधिको पालामा सुरु भएको कार्यक्रम अर्को जनप्रतिनिधिले निरन्तरता नदिने र अर्को नयाँ कामको थालनी गर्ने प्रचलन छ । यसले अघिल्लो जनप्रतिनिधिले खर्च गरेको समय, स्रोत साधनको दुरुपयोग त हुन्छ नै, त्यसबाट लाभान्वित भएकाहरुले समेत सेवाबाट बञ्चित हुनु पर्दछ । यो टेलिमेडिसिन सेवा दूर दराजका बिरामीहरुका लागि बरदान सरह हो । यसले निरन्तरता पाओस् ।

प्रतिक्रिया दिनुहोस्